राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ। बोर्डले बिहीबार राति नतिजा सार्वजनिक गर्दै परीक्षामा सहभागी अधिकांश विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेको जनाएको हो।
बोर्डका अनुसार मौका परीक्षामा ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ५७ हजार ८९७ जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। यो कुल सहभागीमध्ये ८१.१९ प्रतिशत हो। यसैबीच, तीन परीक्षार्थीको परीक्षाफल रद्द गरिएको बोर्डले जनाएको छ। साथै, नतिजामा प्राविधिक कारणले कुनै त्रुटि देखिएमा परीक्षा नियन्त्रण कार्यालयको मूल अभिलेखका आधारमा सच्याइने उल्लेख गरिएको छ।
बोर्डका अनुसार विद्यार्थीहरूले आफ्नो नतिजा बोर्डको वेबसाइट, एसएमएस तथा आइभीआर (IVR) सेवामार्फत हेर्न सक्नेछन्। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षा साउन २ र ३ गते सञ्चालन गरेको थियो।











