मनसुनी वायुको प्रभावका कारण आज देशका अधिकांश भूभागमा बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने कोशी, बागमती र गण्डकीमा सामान्य बदली तथा मधेशमा आंशिक बदली रहेको छ।
हाल लुम्बिनीका केही स्थान तथा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मङ्गलबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका साथै कोशी र बागमतीका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रमा केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका धेरै स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा केही स्थान तथा मधेश, कोशी, बागमती र गण्डकीका तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
कर्णालीको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। यसका कारण ती क्षेत्रमा बाढी, पहिरो तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ।
आज राति पनि देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। ती क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने तराईका एक–दुई स्थानमा समेत मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।










