काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा नयाँ पुस्ताको ‘एट्टो सिरिज’ सार्वजनिक गरेको छ। कम्पनीले एट्टो १, नयाँ एट्टो २ तथा २०२६ एट्टो ३ मा प्रविधि, डिजाइन, आराम र सुविधामा विभिन्न सुधार गरिएको जनाएको छ।
नयाँ पुस्ताको अपडेटसँगै बीवाईडीले विभिन्न मूल्य तथा सेग्मेन्टमा ग्राहकलाई थप विकल्प र सुविधा उपलब्ध गराउने लक्ष्य लिएको छ।
एट्टो १ मा ३६० डिग्री क्यामेरा
एट्टो १ को डाइनामिक र प्रिमियम दुवै भेरियन्टमा अब ३६० डिग्री क्यामेरा उपलब्ध हुने भएको छ। पार्किङ तथा साँघुरा स्थानमा सवारी चलाउँदा यसले चालकलाई वरपरको अवस्थाबारे थप स्पष्ट जानकारी दिने कम्पनीको भनाइ छ।
एट्टो १ प्रिमियममा अटो–फोल्ड ओआरभीएम थप गरिएको छ। नयाँ एट्टो १ डाइनामिकको मूल्य ३० लाख ७५ हजार रुपैयाँ तथा प्रिमियमको मूल्य ३४ लाख ८० हजार रुपैयाँ तोकिएको छ।
एट्टो २ मा थपियो किफायती एसेन्सियल भेरियन्ट
बीवाईडीले एट्टो २ मा नयाँ ‘एसेन्सियल’ भेरियन्ट थप गरेको छ। यसले एट्टो २ सिरिजमा ग्राहकलाई तुलनात्मक रूपमा किफायती विकल्प उपलब्ध गराउनेछ।
एट्टो २ एसेन्सियलमा ४५.१२ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार यसले डब्लूएलटीपी मापदण्डअनुसार एकपटक पूर्ण चार्ज गर्दा ३१२ किलोमिटरसम्म रेन्ज दिन्छ।
यसअघि उपलब्ध एट्टो २ प्रिमियममा ५१.१३ किलोवाट आवरको ब्याट्री रहेको छ भने यसको डब्लूएलटीपी रेन्ज ३४५ किलोमिटर रहेको छ। एट्टो २ एसेन्सियलको मूल्य ४५ लाख ९५ हजार रुपैयाँ र प्रिमियमको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।
२०२६ एट्टो ३ मा डिजाइन र प्रविधिको व्यापक अपग्रेड
नेपालमा सन् २०२२ अक्टोबरमा सार्वजनिक भएयता लोकप्रिय रहेको एट्टो ३ लाई बीवाईडीले नयाँ पुस्तामा थप परिष्कृत गरेको छ।
२०२६ एट्टो ३ मा ‘डाइनामिक ड्रागन फेस’ डिजाइन प्रयोग गरिएको छ। नयाँ डिजाइनले गाडीलाई थप आधुनिक र आकर्षक स्वरूप दिएको कम्पनीको दाबी छ। पछाडिको भागमा रियर स्पोइलर, हाई–माउन्टेड ब्रेक लाइट तथा ‘चाइनिज नट’ टेललाइट डिजाइन समावेश गरिएको छ।
क्याबिनमा पनि सुधार गरिएको छ। सफ्ट–टच सरफेसको क्षेत्र बढाउनुका साथै प्रयोग गरिएका सामग्रीको गुणस्तर र ट्याक्टाइल कम्फर्टमा सुधार गरिएको कम्पनीले जनाएको छ।
नयाँ एट्टो ३ मा पुरानो लेआउटको सट्टा कोलम–सिफ्टर गियर सेलेक्टर राखिएको छ। यसले गियर परिवर्तनलाई सहज बनाउनुका साथै ड्राइभिङ सुविधा र सुरक्षामा समेत सहयोग गर्ने कम्पनीको भनाइ छ।
वायरलेस चार्जिङदेखि भेन्टिलेटेड सिटसम्म
नयाँ एट्टो ३ मा एक्टिभ कुलिङ फ्यानसहितको ५० वाटको अल्ट्रा–फास्ट वायरलेस स्मार्टफोन चार्जर राखिएको छ। ८.८ इन्चको फुल एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टरमा अप्टिमाइज डिस्प्ले र स्मुद ग्राफिक्स उपलब्ध छन्।
चालक र अगाडिको यात्रु दुवैका लागि भेन्टिलेटेड सिट पनि नयाँ एट्टो ३ को प्रमुख सुविधामध्ये रहेको छ।
अडियो प्रणालीतर्फ पनि सुधार गरिएको छ। एट्टो ३ एडभान्स र सुपेरियर दुवै भेरियन्टमा डिराक एचडी साउन्ड र ८–स्पिकर सेटअप स्ट्यान्डर्ड रूपमा उपलब्ध गराइएको छ। २०२६ बीवाईडी एट्टो ३ एडभान्स्डको मूल्य ६२ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ।
एक्स्पोमा खरिद गर्ने ग्राहकलाई विशेष सुविधा
नयाँ एट्टो सिरिज सार्वजनिक गरेको अवसरमा बीवाईडीले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा गाडी खरिद गर्ने ग्राहकका लागि विभिन्न अफरसमेत घोषणा गरेको छ।
अफरअन्तर्गत एक वर्षको निःशुल्क इन्फोटेनमेन्ट तथा बीवाईडी एप कनेक्टिभिटी, विशेष नगद छुट, १० वर्षको एक्सटेन्डेड वारेन्टी, एक वर्षको निःशुल्क बीमा (अटो प्लस), एक वर्षको निःशुल्क सडक दस्तुर र निःशुल्क एसेसरिज उपलब्ध गराइने कम्पनीले जनाएको छ।
नाइमा मोबिलिटी एक्स्पो साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको छ। एक्स्पोमा बीवाईडीको हल ‘ए’ अन्तर्गत स्टल ए५ मा नयाँ पुस्ताको एट्टो सिरिज अवलोकन गर्न सकिनेछ।













