ललितपुर महानगरपालिका वडा नम्बर १४ को आयोजनामा महालक्ष्मीस्थानस्थित होप कलेज चोकदेखि नख्खु खोलासम्म सडक किनारामा वृक्षारोपण गरिएको छ। डिभिजन वन कार्यालय ललितपुर, बहुउद्देश्यीय क्लिनिङ सर्भिस प्रालि, भुवनेश्वरी माता र स्थानीयवासीको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको वडा अध्यक्ष अमृतजंग महतले जानकारी दिनुभयो।
वृक्षारोपणका लागि आवश्यक बिरुवा डिभिजन वन कार्यालय ललितपुरले उपलब्ध गराएको वडा अध्यक्ष महतले बताउनुभयो। उहाँका अनुसार रोपिएका बिरुवाको स्याहार तथा संरक्षणको जिम्मेवारी वडा कार्यालयले लिनेछ।
कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बाबुराम अधिकारीले घर तथा कार्यालय आसपासको वातावरण हरियाली बनाउन सबै नागरिक स्वयं सक्रिय हुनुपर्ने बताउनुभयो। उहाँले वृक्षारोपणसँगै रोपिएका बिरुवाको संरक्षणमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
डिभिजन वन कार्यालय ललितपुरका प्रमुख संयोग बस्नेतले तीन वर्षभन्दा बढी उमेरका अशोकका बिरुवा वडा कार्यालयलाई उपलब्ध गराइएको जानकारी दिनुभयो। उहाँका अनुसार सडक किनारामा वृक्षारोपण गरी हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले बिरुवा उपलब्ध गराइएको हो।











