काठमाडौं। नेपाल आयल निगमले आज काठमाडौं उपत्यकाका विभिन्न सात स्थानबाट एलपी ग्यास सिलिन्डर बिक्री वितरण गर्ने भएको छ। नियमित बिक्रेताबाट ग्यास प्राप्त गर्न नसकेका तथा अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गरी निगमले वैकल्पिक वितरण केन्द्रमार्फत ग्यास बिक्री गर्न लागेको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौं र ग्यास उद्योगीहरूसँगको समन्वयमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म ग्यास बिक्री गरिने निगमले जनाएको छ। ग्यास खरिद गर्न जाने उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ।
निगमका अनुसार टेकुस्थित नेपाल आयल निगम परिसरमा नेपाल, एचपी, एभरेस्टर सुगम, श्रीराम र सगर ब्रान्ड उपलब्ध हुनेछन्। चपली, बुढानीलकण्ठस्थित पशु सेवा शाखामा नेपाल, एचपी र भानु ब्रान्ड बिक्री गरिनेछ।
त्यस्तै राधास्वामी, कीर्तिपुर परिसरमा नेपाल, एचपी, एभरेस्टर सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया ब्रान्ड उपलब्ध हुनेछन्। नयाँ बजार जुडो हल परिसरमा नेपाल, एचपी र ओम तथा तारकेश्वर नगरपालिका परिसरमा नेपाल र एचपी ब्रान्ड बिक्री गरिने निगमले जनाएको छ।
चन्द्रागिरी नगरपालिका कार्यालयमा लोकप्रिय, नेपाल, एचपी र श्रीमाया तथा राष्ट्रिय क्षयरोग केन्द्र, ठिमीमा नेपाल, एचपी, सूर्य, सगर, एभरेस्टर सुगम र एसटीसी ब्रान्डका ग्यास उपलब्ध हुनेछन्।
निगमले एलपी ग्यासको आयात नियमित रूपमा भइरहेको र नियमित बिक्रेतामार्फत पनि वितरण जारी रहेको स्पष्ट पारेको छ। वैकल्पिक केन्द्रमा भने नियमित बिक्रेताबाट ग्यास नपाएका तथा अत्यावश्यक आवश्यकता भएका उपभोक्तालाई मात्र जान आग्रह गरिएको छ। यसअघि शनिबार काठमाडौंका पाँच स्थानबाट ६ हजार ८०२ थान ग्यास सिलिन्डर बिक्री गरिएको निगमले जनाएको छ।











