३१ श्रावण २०८३, आईतवार
Follow us :

नेतन्याहूलाई चुनौती, इजरायल चुनावी सर्वेक्षणमा आइजेनकोट अगाडि

कान्तिपुर प्रेस

इजरायलमा आगामी अक्टोबर २७ मा हुने संसदीय निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको लिकुड पार्टीलाई पूर्वसेना प्रमुख गादी आइजेनकोट नेतृत्वको विपक्षी दलले पछि पार्ने नयाँ सर्वेक्षणले देखाएको छ।

‘टाइम्स अफ इजरायल’को हिब्रु संस्करण जमान इसरायल ले बिहीबार सार्वजनिक गरेको सर्वेक्षणअनुसार आइजेनकोटको विपक्षी दल यासरले २५ सिट जित्ने अनुमान गरिएको छ। नेतन्याहुको लिकुड पार्टी भने २१ सिटमा सीमित हुने देखाइएको छ।

यसअघिका अधिकांश सर्वेक्षणले पनि यासरलाई लिकुडभन्दा अगाडि देखाउँदै आएका थिए। तर ती सर्वेक्षणमा दुई दलबीचको अन्तर निकै कम थियो। नयाँ सर्वेक्षणमा भने यासर र लिकुडबीच चार सिटको अन्तर देखिएको छ।

यद्यपि कुनै पनि दलले एक्लै सरकार गठन गर्न सक्ने अवस्था देखिएको छैन। इजरायलको संसद् नेसेटमा कुल १२० सिट छन्। सरकार गठनका लागि कम्तीमा ६१ सिट आवश्यक पर्छ।

सर्वेक्षणअनुसार नेतन्याहूविरोधी ‘चेन्ज ब्लक’ले कुल ५८ सिट जित्ने अनुमान गरिएको छ। यो बहुमतका लागि आवश्यक ६१ सिटभन्दा तीन सिट कम हो। अर्कोतर्फ नेतन्याहू समर्थक दलहरूले करिब ५० सिट जित्ने अनुमान गरिएको छ।

अरब दलहरूले भने १२ सिट जित्न सक्ने सर्वेक्षणले देखाएको छ। त्यसमा राम पार्टी र हदस–तालले समान ६–६ सिट प्राप्त गर्ने अनुमान गरिएको छ।

यसले निर्वाचनपछि पनि सरकार गठनका लागि गठबन्धन आवश्यक पर्ने संकेत गरेको छ। यासर सबैभन्दा ठूलो दल बने पनि बहुमत नपुग्ने भएकाले उसलाई अन्य दलको समर्थन जुटाउनुपर्ने चुनौती रहनेछ।

त्यसैगरी, नेतन्याहू समर्थक गठबन्धनले पनि स्पष्ट बहुमत नल्याउने अनुमान भएकाले निर्वाचनको परिणामपछि सत्ता समीकरण निकै जटिल बन्न सक्ने देखिएको छ।

३१ श्रावण २०८३, आईतवार ०८:२२ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०