१ भाद्र २०८३, सोमबार
Follow us :

अब घरमै बसेर स्वास्थ्य बीमा, मोबाइलबाटै सबै प्रक्रिया

स्वास्थ्य बीमा बोर्डले अनलाइन प्रणाली लागू गरेको छ। अब मोबाइलबाटै बीमा आबद्धता, नवीकरण, KYC अपडेट र डिजिटल भुक्तानी गर्न सकिनेछ।

कान्तिपुर प्रेस

काठमाडौं। नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमलाई नागरिकको पहुँचमा थप सहज बनाउन स्वास्थ्य बीमा बोर्डले पूर्ण रूपमा अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएको छ। नयाँ व्यवस्थासँगै नागरिकले स्वास्थ्य बीमामा आबद्ध हुन, विवरण अद्यावधिक गर्न तथा बीमा नवीकरणका लागि बोर्डको कार्यालय वा दर्ता सहयोगीकहाँ प्रत्यक्ष पुग्नुपर्ने बाध्यता हटेको छ।

मोबाइलबाटै आबद्धता र नवीकरण

स्वास्थ्य बीमा बोर्डका प्रवक्ता डा. पवनकुमार शाहका अनुसार ‘विद्युतीय माध्यमबाट स्वास्थ्य बीमामा आबद्धता तथा बीमितले नवीकरण सम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत भएपछि अनलाइन सेवा औपचारिक रूपमा सुरु भएको हो।

नयाँ प्रणालीमार्फत नागरिकले नयाँ सदस्य बन्न आवेदन दिन, पारिवारिक विवरण भर्न, फोटो तथा आवश्यक कागजात अपलोड गर्न सक्नेछन्। यसैगरी, पुराना बीमितले बीमाको अवधि सकिनुअघि नै अनलाइनबाट नवीकरण गर्न सक्ने व्यवस्था गरिएको छ।

बीमितको पहिचानका लागि आवश्यक ‘केवाइसी’ (KYC) विवरणसमेत मोबाइल वा कम्प्युटरबाटै अद्यावधिक गर्न सकिनेछ। साथै, बीमितले उपचारका लागि पहिलो सम्पर्क बिन्दु (First Contact Point) समेत अनलाइनबाट छनोट गर्न सक्नेछन्।

ई–सेवा, खल्ती र कनेक्ट आईपीएसबाट भुक्तानी

अनलाइन सेवा सहज बनाउन बोर्डले डिजिटल भुक्तानी प्रदायकसँग सहकार्य गरेको छ। अब बीमितले स्वास्थ्य बीमाको योगदान रकम ई–सेवा, खल्ती र कनेक्ट आईपीएसमार्फत भुक्तानी गर्न सक्नेछन्।

हालको व्यवस्थाअनुसार पाँच जनासम्मको परिवारले वार्षिक ३ हजार ५०० रुपैयाँ योगदान रकम तिर्दा १ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार सुविधा पाउने व्यवस्था छ। पाँच जनाभन्दा बढी सदस्य भए थप प्रत्येक सदस्यका लागि ७०० रुपैयाँ योगदान रकम थपिने र उपचार सुविधाको सीमा प्रत्येक सदस्यका लागि २० हजार रुपैयाँका दरले बढ्ने व्यवस्था छ। यस्तो सुविधा अधिकतम २ लाख रुपैयाँसम्म पुग्न सक्नेछ।

५९ लाखभन्दा बढी नागरिक स्वास्थ्य बीमामा

स्वास्थ्य बीमा बोर्डका अनुसार हालसम्म करिब ५९ लाख ७० हजार ४०३ जना नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन्। अनलाइन प्रणाली लागू भएपछि बीमामा आबद्ध हुने र नवीकरण गर्ने प्रक्रिया थप सहज हुने बोर्डको अपेक्षा छ।

सरकारले अति गरिब, पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, एचआईभी संक्रमित, जटिल क्षयरोगी तथा कुष्ठरोगी भएका परिवारलाई शतप्रतिशत छुटमा स्वास्थ्य बीमा सुविधा उपलब्ध गराउँदै आएको छ।

बोर्डका अनुसार नयाँ प्रणालीले दर्ता सहयोगीमाथिको निर्भरता घटाउँदै नागरिक आफैं वा परिवारका सदस्यले अनलाइनबाट स्वास्थ्य बीमा सेवा लिन सक्ने अवस्था सिर्जना गरेको छ।

१ भाद्र २०८३, सोमबार ०८:०७ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०