ताप्लेजुङ । ताप्लेजुङबाट काठमाडौँसम्म यात्रालाई थप सहज, सुरक्षित र सुविधासम्पन्न बनाउने उद्देश्यले अत्याधुनिक प्रविधिसहितको लक्जरी बस सेवा सञ्चालनमा आएको छ। ताप्लेजुङको सदरमुकाम फुङलिङबाट बिहीबारदेखि औपचारिक रूपमा बस सेवा सुरु गरिएको हो। जय पाथीभरा माता एसी बस सेवा प्रालिले ताप्लेजुङ–फिदिम–तमोर करिडोर–सिन्धुली हुँदै काठमाडौँसम्मका लागि ६ वटा सुविधासम्पन्न बस सञ्चालनमा ल्याएको छ।
यात्रुको बढ्दो मागलाई ध्यानमा राख्दै आधुनिक प्रविधि र थप सुविधासहितको बस सेवा सञ्चालनमा ल्याइएको ताप्लेजुङका बुकिङ इन्चार्ज मिथुन पालुङ्वा लिम्बूले जानकारी दिए।बसभित्र यात्रु तथा उनीहरूको सामानको सुरक्षाका लागि सीसीटीभी निगरानीको व्यवस्था गरिएको छ। त्यसैगरी यात्रुका लागि निःशुल्क वाइफाई, मोबाइल चार्जिङ सुविधा, एसी तथा फोल्डिङ लक्जरी सिट उपलब्ध गराइएको सञ्चालक जंग सुनुवारले बताए।
उनका अनुसार सीसीटीभी निगरानीसहित बस सञ्चालन हुने भएकाले यात्रुले थप सुरक्षित र ढुक्क भएर यात्रा गर्न सक्नेछन्। सामान्य दुर्घटना तथा जोखिम न्यूनीकरणका लागि प्रत्येक बसमा सिट बेल्टको समेत व्यवस्था गरिएको काउन्टर इन्चार्ज दिनेश खतिवडाले जानकारी दिए।नयाँ लक्जरी बस सेवा सञ्चालनसँगै ताप्लेजुङबाट काठमाडौँ यात्रा गर्ने यात्रुलाई लामो दूरीको यात्रामा थप आरामदायी र आधुनिक सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ।











