५ भाद्र २०८३, शुक्रबार
Follow us :

विद्युत खरिद सम्झौता (पीपीए) खोल्ने तयारी, ७ दिनभित्र मापदण्ड बन्ने

सरकारले लामो समयदेखि रोकिएको विद्युत खरिद सम्झौता (पीपीए) खुलाउने प्रक्रिया अघि बढाएको छ।

कान्तिपुर प्रेस

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति बैठकले पीपीए खुलाउन आवश्यक मापदण्ड तयार गर्न पाँच सदस्यीय उपसमिति गठन गरेको छ।प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित उपसमितिले सात दिनभित्र पीपीएको मापदण्ड तयार गरी सञ्चालक समितिसमक्ष पेस गर्नेछ।

उपसमितिमा विद्युत विकास विभागका उपमहानिर्देशक, ऊर्जा मन्त्रालयका तर्फबाट सिडिइ शालिग्राम भण्डारी, विज्ञ रिवाज शर्मा सदस्य तथा व्यापार शाखाका निर्देशक सदस्य–सचिव रहेका छन्।प्राधिकरण सञ्चालक समितिको निर्णयअनुसार आर्थिक ऐन, २०८३ मा भएको व्यवस्थाबमोजिम उत्पादन अनुमति प्राप्त ऊर्जा उत्पादकसँग विद्युत खरिद सम्झौता गर्न विद्यमान आधार तथा ऊर्जा मन्त्रालयबाट गठित समितिको सिफारिससमेत अध्ययन गरिनेछ।

अध्ययन र विश्लेषणपछि पीपीए गर्ने स्पष्ट मापदण्ड तयार पारिने प्राधिकरणले जनाएको छ। उपसमितिले तयार गर्ने मापदण्डका आधारमा उत्पादन अनुमति प्राप्त ऊर्जा उत्पादकसँग पीपीए अघि बढाउने प्रक्रिया तय हुनेछ।पीपीए खुलाउने प्रक्रिया अघि बढेसँगै विद्युत उत्पादनका लागि अनुमति लिएर सम्झौताको प्रतीक्षामा रहेका ऊर्जा उत्पादकलाई समेत राहत पुग्ने अपेक्षा गरिएको छ। साथै, नयाँ जलविद्युत तथा अन्य ऊर्जा आयोजनामा लगानीको वातावरण थप सहज हुने अपेक्षा गरिएको छ।

५ भाद्र २०८३, शुक्रबार ०७:३८ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०