७ भाद्र २०८३, आईतवार
Follow us :

बंगालको खाडीमा मालवाहक जहाज डुब्यो, २२ चालक दलका सदस्य बेपत्ता

ओडिशाको पारादीप तटबाट करिब २४० समुद्री माइल टाढा बंगालको खाडीमा पनामा झण्डावाहक मालवाहक जहाज ‘एमभी ओसन विनर’ डुबेको छ। जहाजमा रहेका २४ चालक दलका सदस्यमध्ये दुई जनालाई जीवितै उद्धार गरिएको छ भने २२ जना अझै बेपत्ता रहेका छन्।

कान्तिपुर प्रेस

ओडिशाको पारादीप तटबाट करिब २४० समुद्री माइल टाढा बंगालको खाडीमा पनामा झण्डावाहक मालवाहक जहाज ‘एमभी ओसन विनर’ डुबेको छ। जहाजमा रहेका २४ चालक दलका सदस्यमध्ये दुई जनालाई जीवितै उद्धार गरिएको छ भने २२ जना अझै बेपत्ता रहेका छन्।

भारतीय तटरक्षक बलका अनुसार जहाजसँग सम्पर्क विच्छेद भएपछि शनिबार बिहान ११ः४८ बजे समुद्री उद्धार समन्वय केन्द्रलाई जानकारी प्राप्त भएको थियो। त्यसलगत्तै भारतीय तटरक्षक बल र नौसेनाले व्यापक खोज तथा उद्धार अभियान सुरु गरेका छन्।

उद्धार अभियानका क्रममा नजिकै रहेको एमटी आइसोपोस नामक व्यावसायिक जहाजले दुईवटा लाइफ र्‍याफ्टबाट दुई चालक दलका सदस्यलाई जीवितै उद्धार गरेको भारतीय तटरक्षक बलले जनाएको छ।

बेपत्ता चालक दलका सदस्यहरूको खोजीका लागि आईसीजीएस वरद, आईसीजीएस अनमोल र आईसीजीएस विजित परिचालन गरिएको छ। आसपासमा रहेका अन्य व्यावसायिक जहाजलाई समेत खोज तथा उद्धार अभियानमा सहयोग गर्न आग्रह गरिएको छ।

जहाजमा २० जना चिनियाँ, तीन जना म्यानमारका र एक जना बंगलादेशी नागरिक रहेको बताइएको छ। उक्त जहाजले पारादीपबाट करिब ७२ हजार १०० मेट्रिक टन फलामे अयस्क बोकेर सिंगापुरतर्फ यात्रा गरिरहेको थियो।

अगस्ट २० को राति पारादीपबाट प्रस्थान गरेको जहाज किन डुब्यो भन्ने कारण अझै खुल्न सकेको छैन। भारतीय अधिकारीहरूले समुद्रमा बेपत्ता रहेका २२ जनाको खोजी कार्यलाई तीव्र बनाएका छन्।

७ भाद्र २०८३, आईतवार ०७:४९ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०