काठमाडौँ। इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१औँ जन्मजयन्ती आज देशभर विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रम आयोजना गरी मनाइँदैछ।
मुस्लिम समुदायले पैगम्बर मोहम्मदलाई अल्लाहका सन्देष्टाका रूपमा श्रद्धापूर्वक स्मरण गर्ने गर्दछ। उनको जन्म साउदी अरबको मक्कामा भएको थियो भने पछि उनी मदिनामा गएका थिए। पैगम्बर मोहम्मदको जीवन र शिक्षाले इस्लाम धर्मको प्रचारप्रसार तथा विकासमा महत्वपूर्ण भूमिका खेलेको मुस्लिम समुदायको विश्वास छ।
जन्मजयन्तीका अवसरमा विभिन्न स्थानमा ¥याली, धार्मिक सभा तथा विशेष कार्यक्रम आयोजना गरिएका छन्। विशेषगरी काठमाडौँका नेपाली जामे मस्जिद र काश्मिरी जामे मस्जिदलगायत स्थानमा विशेष धार्मिक कार्यक्रम भइरहेका छन्।
मुस्लिम समुदायका अनुसार पैगम्बर मोहम्मदले मानवता, शान्ति, भाइचारा र सामाजिक सद्भावको सन्देश दिएका थिए। उनको योगदान र शिक्षाको स्मरण गर्दै जन्मजयन्ती मनाउने गरिएको हो।
मुस्लिम समुदायको विश्वासअनुसार मक्का र मदिना इस्लाम धर्मका अत्यन्त पवित्र धार्मिक स्थल हुन्। विश्वभरका इस्लाम धर्मावलम्बीले जीवनमा कम्तीमा एकपटक मक्का–मदिना पुगेर हज गर्ने चाहना राख्ने गर्दछन्।











