काठमाडौँ । प्रतिनिधिसभामा कालो चस्मा लगाएर सहभागी हुन रोक लगाइए पनि प्रधानमन्त्री बालेन शाहलाई भने स्वास्थ्य परीक्षणको रिपोर्टका आधारमा छुट दिइएको छ। अस्पतालको स्वास्थ्य परीक्षणले खुला आँखाले हेर्दा समस्या हुने देखाएपछि प्रधानमन्त्री शाहले बुधबार प्रतिनिधिसभामा कालो चस्मा लगाएर सांसदहरूसँग प्रत्यक्ष सवाल–जवाफमा सहभागी हुने भएका छन्।
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शाहसँगै केही मन्त्री र सांसदहरू पनि कालो चस्मा लगाएर सहभागी हुँदै आएको विषयमा सांसदहरूले प्रश्न उठाउँदै आएका थिए। गृहमन्त्री सुधन गुरुङ, भौतिक पूर्वाधार मन्त्री सुनील लम्साललगायत केही सांसद कालो चस्मा लगाएर संसद् बैठकमा उपस्थित हुँदै आएका थिए।
यसै विषयलाई लिएर गत श्रावण २१ गते बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख डोलप्रसाद अर्यालले संसद्को गरिमा र मर्यादा कायम राख्न स्वास्थ्यसम्बन्धी कारणबाहेक कालो चस्मा लगाएर बैठकमा उपस्थित नहुन आग्रह गर्नुभएको थियो। सभामुखले प्रमुख सचेतक र सचेतकमार्फत सबै सांसदलाई यसबारे जानकारी गराउनसमेत निर्देशन दिनुभएको थियो।
सभामुखको उक्त धारणा सार्वजनिक भएको भोलिपल्टै प्रधानमन्त्री शाहले आँखाको परीक्षण गराउनुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। अस्पतालले खुला आँखाले हेर्दा समस्या देखिएको भन्दै कालो चस्मा प्रयोग गर्नुपर्ने उल्लेख गरेको स्वास्थ्य परीक्षणसम्बन्धी प्रतिवेदन श्रावण २६ गते संसद् सचिवालयमा पठाइएको संसद् सचिवालयका सहसचिव एकाराम गिरीले जानकारी दिनुभएको छ।
११ सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने
बुधबार हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री शाहलाई ११ सांसदले प्रश्न सोध्ने भएका छन्। सभामुख अर्यालले प्रधानमन्त्रीसँग प्रश्न गर्न चाहने सांसदलाई भदौ ५ गतेसम्म प्रश्न दर्ता गर्न समय दिनुभएको थियो। संसद् सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका समीक्षा बाँस्कोटा, कृष्णहरि बुढाथोकी र अमरेशकुमार सिंह, नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापा र सांसद गीता गुरुङले प्रश्न सोध्नेछन्।
त्यस्तै नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महर र सांसद गणेशसिंह ठगुन्ना, नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन र प्रमेशकुमार हमाल, श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक खुश्बु ओलीले पनि प्रश्न दर्ता गराएका छन्।
नियमावलीअनुसार प्रत्यक्ष प्रश्नोत्तर
यसअघि भदौ १ गते बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि समय निर्धारण गर्नुभएको थियो। प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमसम्बन्धी व्यवस्था छ।
नियमावलीअनुसार प्रधानमन्त्री वा उहाँको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्न प्रत्येक महिनाको पहिलो साताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गरिने व्यवस्था छ।
नियम ५७ अनुसार यस्तो कार्यक्रम सरकारी तथा अन्य सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण गर्न सकिन्छ। नियम ५८ मा प्रधानमन्त्रीलाई प्रश्न गर्न इच्छुक सांसदले बैठक सुरु हुनुभन्दा तीन दिनअघि सभामुखलाई प्रश्नको विषयबारे लिखित जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै नियम ५९ मा प्रश्नसम्बन्धी सर्तहरू र नियम ६० मा प्रत्यक्ष प्रश्नोत्तरका क्रममा प्रधानमन्त्रीले दिएको जवाफमाथि सभामा थप छलफल नगरिने व्यवस्था रहेको छ।











