बाढीका कारण लेदो र माटोले पुरिएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा उद्धारका लागि भइरहेको ड्रिलिङ कार्यमा आंशिक सफलता प्राप्त भएको छ।
आइतबार बिहानदेखि प्राविधिक तथा सुरक्षाकर्मीको टोलीले सुरुङमा जमेको लेदो पन्छाउँदै ड्रिलिङमार्फत उद्धार मार्ग खोल्ने प्रयास गरिरहेको थियो। सो क्रममा सुरुङको माथिल्लो भागमा रहेको ‘क्राउन’ पहिचान भएको घटनास्थलबाट जानकारी प्राप्त भएको छ।
‘क्राउन’ पहिचान भएपछि ड्रिलिङबाट बनाइएको प्वालमार्फत सुरुङभित्र क्यामेरा र अक्सिजन पठाउने तयारी अघि बढाइएको छ। क्यामेराबाट सुरुङभित्रको अवस्थाबारे जानकारी लिन तथा सम्भावित रूपमा भित्र रहेका व्यक्तिसम्म अक्सिजन पुर्याउन यो प्रयास महत्वपूर्ण मानिएको छ।
उद्धार टोलीले सुरुङमा थुप्रिएको लेदो हटाउँदै ड्रिलिङमार्फत थप मार्ग खोल्ने काम जारी राखेको छ। साथै आवश्यक उपकरण तथा अक्सिजन पठाएर सुरुङभित्रको अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको छ।
प्रतिकूल मौसम र चुनौतीपूर्ण भौगोलिक अवस्थाका बाबजुद प्राविधिक तथा सुरक्षाकर्मीको टोली उद्धार कार्यमा निरन्तर खटिएको छ। सुरुङभित्रको वास्तविक अवस्था क्यामेराबाट प्राप्त हुने विवरणपछि थप स्पष्ट हुने अपेक्षा गरिएको छ।











