काठमाडौं — नेपाल-चीन सीमा क्षेत्र नजिकै गएको भीषण पहिरोपछि नदी थुप्रिएर बनेको विशाल बाँध ताल (Barrier Lake) को आकार करिब १४ वटा मानक फुटबल मैदान बराबर पुगेको छ। चिनियाँ सरकारी टेलिभिजन ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क’ (CGTN) का अनुसार इन्जिनियरिङ अध्ययन टोली एन्नेङ ग्रुप (Anneng Group) ले गरेको अनुगमनमा उक्त तालको क्षेत्रफल करिब १ लाख वर्गमिटर पुगेको पुष्टि भएको हो।
भाद्र १० गते हिमालयन क्षेत्रमा गएको भयानक हिमपहिरो तथा पहिरोपछि नदीको बहाव थुनिएर उक्त प्राकृतिक जलाशय बनेको हो।
बाँध ताल-२ पनि फेला, स्थिति भने हाल नियन्त्रणमा
अवस्था नियन्त्रणमा: विशाल ताल निर्माण भए पनि हालसम्म स्थिति नियन्त्रणमै रहेको र तल्लो तटीय क्षेत्रमा अचानक ठूलो कटान हुन नदिन प्राविधिक टोली खटाइएको एन्नेङ ग्रुपलाई उद्धृत गर्दै सीजीटीएनले जनाएको छ।
दोस्रो तालको पहिचान: पहिलो ताल बनेको स्थानभन्दा करिब ५ किलोमिटर माथिल्लो तटीय क्षेत्र (Upstream) मा अर्को ‘बाँध ताल–२’ समेत पहिचान गरिएको छ।
निरन्तर अनुगमन र पूर्वसतर्कता: भदौ १० को विपत्तिपछि चीन सरकारले ड्रोन तथा प्राविधिक टोलीमार्फत सो क्षेत्रको चौबीसै घण्टा निगरानी गरिरहेको छ।
नेपालतर्फ भोटेकोशी तथा त्रिशूली नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई सम्भावित जोखिमप्रति सतर्क रहन र नदी आसपासका सुरक्षा निकायहरूलाई उच्च अलर्टमा राखिएको छ।











