काठमाडौं — बाढीका कारण माथिल्लो त्रिशूली– ३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका मानिसहरूको उद्धारका लागि सरकारले रातभर सञ्चालन गरेको प्रयासलाई निरन्तरता दिए पनि आइतबार बिहान करिब ४ बजे पुनः बाढी आएपछि उद्धार कार्य थप चुनौतीपूर्ण बनेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका अनुसार पुनः आएको बाढीले त्रिशूली नदीको जलसतह ५ देखि १० मिटरसम्म बढाएको छ। जलसतह अत्यधिक बढेसँगै आयोजना क्षेत्रका किनारहरू तीव्र रूपमा कटान हुन थालेका छन्।
उद्धार र क्षति व्यवस्थापनका मुख्य अपडेटहरू:
* उपकरण परिचालनको तयारी: आयोजना क्षेत्रमा ठूलो मात्रामा माटो र लेदो थुप्रिएकाले सो हटाउन डोजर तथा अन्य भारी उपकरणहरू परिचालन गर्ने तयारी भइरहेको छ।
* सीसीटीभी र डेटा उपकरण सुरक्षित निकालिने: पहिरो र माटोले पुरिएको टनेल पोर्टल तथा पावर हाउस नियन्त्रण कक्षमा रहेका १९ वटा सीसीटीभी क्यामेरा, एचडीआर र सेटअप बक्सलगायत महत्त्वपूर्ण उपकरण सुरक्षित निकाल्ने प्रयास भइरहेको छ।
* हेलिकोप्टरमार्फत विशेष टोली: सडक पहुँच पूर्ण रूपमा अवरुद्ध भएकाले पुरिएका उपकरण निकाल्न हेलिकोप्टरमार्फत आयोजनास्थलमा विशेष टोली उतार्ने तयारी गरिएको छ।
प्रतिकूल मौसम र नदीको निरन्तर बढ्दो बहावका बीच पनि सरकारले पूर्ण सतर्कताका साथ खोज, उद्धार तथा क्षति व्यवस्थापनलाई निरन्तरता दिइरहेको सचिवालयले जनाएको छ।











