५ आश्विन २०८३, सोमबार
Follow us :

त्रिवि शिक्षण अस्पतालमा ८० शव, शवगृह भरिँदै

बाढीपछि शव व्यवस्थापनमा चुनौती

कान्तिपुर प्रेस

काठमाडौं — विनाशकारी हिमबाढीपछि रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाबाट ल्याइएका शवका कारण त्रिवि शिक्षण अस्पतालको शवगृहमा व्यवस्थापनको चुनौती बढेको छ। बाढी प्रभावित क्षेत्रबाट हालसम्म ८० वटा शव अस्पतालमा ल्याइएको छ। एकैपटक ठूलो संख्यामा शव आएपछि सीमित क्षमताको शवगृहमा राख्न कठिन भएको अस्पतालले जनाएको छ।

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरीका अनुसार सामान्य अवस्थामा शवगृहमा करिब १५० शव राख्न सकिन्छ। विशेष परिस्थितिमा व्यवस्थापन मिलाएर करिब दुई सय शवसम्म राख्न सकिए पनि लामो समयसम्म राख्नुपर्ने अवस्था आएमा समस्या हुने उहाँले बताउनुभयो।

अस्पतालमा यसअघि नै पहिचान हुन नसकेका तथा आफन्त सम्पर्कमा नआएका केही शव लामो समयदेखि छन्। केही शव सात–आठ वर्षदेखि समेत भण्डारणमा रहेको डा. चौधरीले जानकारी दिनुभयो। कानुनी प्रक्रिया पूरा नभएसम्म यस्ता शवको अन्त्येष्टि गर्न नसकिने भएकाले नयाँ शव थपिँदै जाँदा भण्डारण क्षमतामाथि थप दबाब परेको हो।

डा. चौधरीले लामो समयसम्म पहिचान हुन नसक्ने शवलाई वैज्ञानिक विधिबाट जमिनमुनि व्यवस्थापन गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभयो। उहाँका अनुसार यस्ता शवको पहिचानका लागि आफन्तको खोजी, डिएनए परीक्षण तथा अन्य कानुनी प्रक्रिया पूरा गर्न समय लाग्ने गर्छ।

अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसायाराका अनुसार बाढीबाट आएका शवको पहिचान, पोस्टमार्टम र आवश्यक कानुनी प्रक्रिया प्राथमिकताका साथ भइरहेको छ। बाढी प्रभावित क्षेत्रबाट शव आउने क्रम जारी रहेकाले आगामी दिनमा व्यवस्थापन थप चुनौतीपूर्ण बन्न सक्ने अस्पतालको भनाइ छ।

 

१५ भाद्र २०८३, सोमबार ०८:५२ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०