काठमाडौं — अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार कोशी, बागमती र कर्णाली प्रदेशका विभिन्न स्थानमा पहिरो खस्नुका साथै बाढीको जोखिम बढेपछि यातायात सेवा ठप्प वा आंशिक रूपमा प्रभावित भएको हो।
कोशी प्रदेशअन्तर्गत इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग भदौ २३ गतेदेखि पूर्ण रूपमा अवरुद्ध छ। ताप्लेजुङ–झापा जोड्ने मुख्य सडक बन्द भएपछि यात्रु तथा मालवाहक सवारीसाधनलाई वैकल्पिक बाटोबाट सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
बागमती प्रदेशमा पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिर र गजुरी गाउँपालिका–२ को परेवाभिरमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरोका कारण पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित हुँदा यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था आएको छ।
त्यस्तै, अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा पनि पहिरो खसेपछि सडकखण्ड पूर्ण रूपमा बन्द रहेको छ। चीनसँगको सीमावर्ती क्षेत्र जोड्ने उक्त सडक अवरुद्ध हुँदा आवागमनमा थप समस्या भएको छ।
रसुवामा बाढीले सडक संरचनामा क्षति पुर्याएपछि उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा बन्द भएको छ। त्यस्तै, पासाङ ल्हामु राजमार्ग पनि बाढी र पहिरोका कारण अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
मुख्य राजमार्गहरू लामो समयसम्म अवरुद्ध हुँदा यात्रु तथा अत्यावश्यक सामग्री ढुवानीमा समेत असर परेको छ। प्रहरीले जोखिमयुक्त सडकमा यात्रा नगर्न तथा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।












