१५ भाद्र २०८३, सोमबार
Follow us :

सप्तकोशीमा जलसतह बढेपछि २५ ढोका खोलिए

तटीय बासिन्दालाई सतर्क रहन प्रशासनको आग्रह

कान्तिपुर प्रेस

सुनसरी — सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २५ वटा ढोका खोलिएका छन्। नदीमा पानीको बहाव बढ्दै गएपछि ब्यारेजमा थप ढोका खोलिएको हो।

हिजो साँझ गरिएको मापनअनुसार कोशी ब्यारेजमा प्रतिसेकेन्ड २ लाख १० हजार ९२५ क्युसेक पानीको बहाव हुँदा २१ वटा ढोका खोलिएका थिए। त्यसपछि पनि पानीको बहाव निरन्तर बढेपछि २५ वटा ढोका खोलिएको सम्बन्धित निकायले जनाएको छ।

कोशी ब्यारेजमा पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि सर्वसाधारणलाई सम्भावित जोखिमबारे सचेत गराउन पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ। जलसतह बढिरहेको अवस्थामा ब्यारेज आसपास तथा नदीको तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

हाल सप्तकोशीका कारण तत्काल डुबानको प्रत्यक्ष जोखिम नरहे पनि दिउँसोदेखि नै जलसतह बढिरहेकाले आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। सम्बन्धित निकायले जोखिमपूर्ण क्षेत्रमा नजान र नदीको अवस्था हेरेर मात्र आवतजावत गर्न सर्वसाधारणलाई अनुरोध गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीले सूचना जारी गर्दै सप्तकोशीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। साथै नदीमा माछा मार्ने, दाउरा संकलन गर्ने तथा अन्य प्रयोजनका लागि नदी किनारमा जाने कार्य नगर्न प्रहरीले अनुरोध गरेको छ।

लगातार वर्षा भइरहेकाले नदीको जलसतह अझै बढ्न सक्ने सम्भावना रहेकाले स्थानीय प्रशासन तथा सुरक्षा निकायले नदी आसपासका क्षेत्रमा निगरानी बढाएका छन्।

१५ भाद्र २०८३, सोमबार ०९:०० मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०