१५ भाद्र २०८३, सोमबार
Follow us :

भागावन पदमार्गमा १०८ रुद्राक्षका बिरुवा रोपियो

धार्मिक पर्यटन प्रवर्द्धनमा जोड

कान्तिपुर प्रेस

ललितपुर — गोदावरी नगरपालिका–१० स्थित भागावन पदमार्गमा १०८ वटा रुद्राक्षका बिरुवा रोपिएको छ। रमणीय पर्यटन सहकारी संस्था, लायन्स क्लब अफ काठमाडौं महिमा र वडा नम्बर १० को संयुक्त आयोजनामा पदमार्ग तथा प्रस्तावित हनुमान मन्दिर र पार्क आसपास रुद्राक्षका बिरुवा रोपिएको हो।

सीर्जनसीप सेवा प्रालि र नेप्को सेवाको सहकार्यमा आयोजित वृक्षारोपण कार्यक्रम पुरोहित शान्तमणि चालिसेको वैदिक मन्त्र उच्चारणसँगै वडा अध्यक्ष शेखर न्यौपानेले रुद्राक्षको बिरुवा रोपेर शुभारम्भ गर्नुभएको थियो।

कार्यक्रममा महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी निरु थापा, रमणीय सहकारीका अध्यक्ष रुपेश तिमल्सीना, लायन्स क्लब अफ काठमाडौं महिमाका अध्यक्ष पुरुषोत्तम तिमल्सीना, गोदावरी नगर प्रहरी प्रमुख उत्सव विष्ट, जिल्ला सहकारी संघका व्यवस्थापक मनु जिसी, लगायतले बिरुवा रोप्नुभएको थियो। कार्यक्रममा लायन्स लिडर, सहकारीका पदाधिकारी तथा सदस्य, नगर प्रहरी, नेपाल प्रहरी, विभिन्न संस्थाका प्रतिनिधि र स्थानीय गरी ५० भन्दा बढीको सहभागिता थियो।

वृक्षारोपणको अघिल्लो दिन पदमार्गमा बृहत् सरसफाइ गर्दै १०८ वटा बिरुवा रोप्न आवश्यक खाल्डा खन्ने काम गरिएको थियो। सोही अवसरमा रमणीय पर्यटन सहकारी संस्था लिमिटेड र लायन्स क्लब अफ काठमाडौं महिमाबीच आगामी दिनमा विभिन्न सामाजिक तथा पर्यावरणीय कार्यक्रम संयुक्त रूपमा सञ्चालन गर्ने सम्झौतासमेत भएको छ।

कार्यक्रममा वडा अध्यक्ष न्यौपानेले सरसफाइ र वृक्षारोपणका गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। रुद्राक्षका बिरुवा रोपिएसँगै भागावन क्षेत्र प्राकृतिकसँगै आध्यात्मिक पर्यटनको आकर्षक गन्तव्य बन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो। रोपिएका बिरुवाको संरक्षणमा पनि सबै पक्षले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।

रमणीय सहकारीका अध्यक्ष तिमल्सीनाले वातावरण संरक्षणको अभियानमा स्थानीय तहबाट प्राप्त सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो।

यसअघि साउन १६ र २३ गते पनि यही पदमार्गमा सरसफाइ गरिएको थियो। बागेश्वरी मन्दिर परिसरबाट सुरु गरिएको सरसफाइ अभियान पदमार्गको अन्तिम भागसम्म सञ्चालन गरिएको थियो। अभियानका क्रममा निर्माणाधीन हनुमान मन्दिर, प्रतीक्षालय तथा आराम गर्ने स्थान वरपरका झाडी हटाउनुका साथै सिँढीमा जमेको लेउ र माटो सफा गरिएको थियो। पदमार्ग आसपास फालिएका प्लास्टिकका खोल तथा पेय पदार्थका बोतलसमेत संकलन गरिएको थियो।

१५ भाद्र २०८३, सोमबार ०९:२२ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०