नेपालगन्ज, भदौ १६ — नेपाल–भारत सीमा क्षेत्रस्थित नेपालगन्ज रोडबाट भारतका प्रमुख धार्मिक सहर अयोध्या, गोरखपुर र बनारससम्म सिधा ब्रोडगेज रेल सेवा सुरु भएको छ। सोमबारदेखि सञ्चालनमा आएको रेल सेवाले नेपाल र भारतबीच धार्मिक पर्यटकको आवागमन सहज बनाउनुका साथै व्यापारिक गतिविधि विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णवले संयुक्त रूपमा रेल सेवाको उद्घाटन गर्नुभएको हो। लामो समयको प्रतीक्षापछि सुरु भएको रेल सेवाबाट पश्चिम नेपालका नेपालीलाई भारतका प्रमुख धार्मिक गन्तव्यसम्म पुग्न सहज हुने बताइएको छ।
पर्यटन प्रवर्द्धन मञ्च, बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठका अनुसार नेपालबाट अयोध्या, गोरखपुर र बनारस जाने नेपाली तीर्थयात्री तथा ती क्षेत्रबाट नेपालगन्जको बागेश्वरी मन्दिर, प्युठानको स्वर्गद्वारी र कैलाश मानसरोवरतर्फ जाने भारतीय तीर्थयात्रीलाई रेल सेवाले सहज बनाउनेछ।
श्रेष्ठले रेल सेवाका माध्यमबाट नेपालमा ठूलो संख्यामा भारतीय धार्मिक पर्यटक भित्र्याउन सकिने बताउनुभयो। उहाँका अनुसार पश्चिम नेपालका नागरिकका लागि अयोध्याको राम मन्दिर, गोरखपुरको गोरखधाम र बनारसको विश्वनाथ मन्दिरसम्मको यात्रा अब थप सहज भएको छ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नेपालगन्ज नजिकैबाट ब्रोडगेज रेल सेवा सुरु हुनु यस क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले रेल सेवाबाट धार्मिक पर्यटनसँगै स्थानीय व्यापार, व्यवसाय र समग्र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो।
रेल सेवा नियमित र प्रभावकारी रूपमा सञ्चालन भए नेपाल–भारतबीचको धार्मिक तथा पर्यटकीय सम्बन्ध थप विस्तार हुने अपेक्षा गरिएको छ।













