१९ भाद्र २०८३, शुक्रबार
Follow us :

त्रिशूली–३ ‘ए’ सुरुङभित्र फसेकासँग उद्धार टोलीको दोहोरो संवाद

उद्धार कार्य तीव्र ,थप उपकरण र प्राविधिक टोली परिचालन

कान्तिपुर प्रेस

नुवाकोट, भदौ १९ गते । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धार प्रयासमा महत्वपूर्ण प्रगति भएको छ। उद्धारमा खटिएको टोली र सुरुङभित्र फसेका व्यक्तिबीच दोहोरो संवाद भएको जनाइएको छ।

उद्धार टोलीले सुरुङभित्र रहेका व्यक्तिलाई ढाडस दिँदै ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेर आवाज दिएपछि भित्रबाट ‘हुन्छ’ भन्ने स्पष्ट प्रतिक्रिया आएको बताइएको छ। सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाजसमेत सुनिएको जनाइएको छ।

उद्धार टोलीसँग दोहोरो संवाद भएको घटनाले सुरुङभित्र फसेका व्यक्तिहरू जीवित र सचेत अवस्थामा रहेको संकेत गरेको छ। यससँगै उनीहरूको सकुशल उद्धार हुने अपेक्षा बढेको छ।

सांसद श्रीराम न्यौपानेका अनुसार नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले अहिले अत्यन्तै सावधानीपूर्वक उद्धार कार्यलाई तीव्र बनाएको छ।उहाँका अनुसार सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिनु र उद्धार टोलीले गरेको कुराकानीमा प्रतिक्रिया आउनुले उद्धारमा खटिएको टोलीलाई थप उत्साहित बनाएको छ।“भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिनु र उद्धार टोलीको कुरामा प्रतिक्रिया आउनुले हामीलाई थप उत्साहित बनाएको छ,” न्यौपानेले बताउनुभयो।

उद्धार कार्यमा सुरुङको जटिल संरचना चुनौतीका रूपमा रहेको छ। सुरुङभित्रको अवस्था र संरचनालाई ध्यानमा राख्दै उद्धार टोलीले सावधानीपूर्वक काम अघि बढाइरहेको जनाइएको छ।घटनास्थलमा थप प्राविधिक सहयोग तथा उद्धारका उपकरण परिचालन गरिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी तथा प्राविधिक टोलीले सुरुङभित्र फसेका व्यक्तिहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न प्रयास गरिरहेका छन्।

उद्धारका क्रममा सुरुङको अवस्था, भौतिक संरचना तथा सम्भावित जोखिमलाई ध्यानमा राखेर काम भइरहेको जनाइएको छ। फसेका व्यक्तिसँग सम्पर्क स्थापित भएपछि उद्धार टोलीले उनीहरूलाई हौसला दिँदै सुरक्षित उद्धारका लागि प्रयासलाई थप तीव्र बनाएको छ।सुरुङभित्रबाट आएको प्रतिक्रिया उद्धार अभियानका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। अब उद्धार टोलीको प्राथमिकता सुरुङभित्र रहेका व्यक्तिसम्म सुरक्षित रूपमा पुगेर उनीहरूलाई बाहिर निकाल्नु रहेको छ।

१९ भाद्र २०८३, शुक्रबार ०७:५१ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०