ललितपुरको पाटनस्थित प्रसिद्ध श्रीकृष्ण मन्दिरमा यस वर्षको श्रीकृष्ण जन्माष्टमी विशेष रौनकका साथ मनाइयो। बिहानैदेखि भगवान् श्रीकृष्णको दर्शन तथा पूजाआराधनाका लागि मन्दिर परिसरमा हजारौँ भक्तजनको भीड लागेको थियो। लामो समयसम्म लाइनमा बसेर दर्शनको प्रतीक्षा गरिरहेका भक्तजनलाई भने यसपटक धार्मिक आस्थासँगै मानवीय सेवाको अनुभूति पनि भयो।
राष्ट्रिय संगीतकर्मी संघ, ललितपुर जिल्ला कार्यसमितिले जन्माष्टमीको अवसरमा भक्तजनलाई निःशुल्क मही वितरण गरेको हो। घण्टौँसम्म लाइनमा बस्दा प्यास लाग्ने भक्तजनलाई लक्षित गर्दै गरिएको यो सेवाले धार्मिक पर्वमा सामाजिक उत्तरदायित्वको सुन्दर उदाहरण प्रस्तुत गरेको छ।

भगवान् श्रीकृष्णको बाललीलाको कथासँग दही तथा महीको सम्बन्ध जोडिन्छ। त्यसैले जन्माष्टमीका अवसरमा मही वितरणले धार्मिक तथा सांस्कृतिक महत्वसमेत बोकेको आयोजकको बुझाइ छ। तर यसको अर्को महत्वपूर्ण पक्ष भक्तजनलाई सहजता प्रदान गर्नु हो।
राष्ट्रिय संगीतकर्मी संघले ‘हाम्रो कला र संस्कृति गौरवपूर्ण सान, कलाकर्मी उत्थानको लागि हाम्रो अभियान’ भन्ने नारालाई व्यवहारमा उतार्दै यो कार्यक्रम आयोजना गरेको जनाएको छ। धार्मिक आस्था र सामाजिक सेवाबीचको सम्बन्धलाई जोड्ने उद्देश्यले गरिएको यो प्रयासले पर्वलाई थप जनमुखी बनाएको देखिन्छ।
कार्यक्रम सफल बनाउन गोदावरी–६ स्थित तिलेश्वर डेरी प्रालि, न्यू दाहाल स्टोर, भैँसेपाटी डेरी सेन्टर, जय श्री रियाना प्लास्टिक स्टोर, डी.एस. पेपर कप उद्योग तथा केशव घिमिरेले व्यक्तिगत रूपमा सहयोग गरेका थिए।

धार्मिक पर्वमा गरिने यस्ता सेवामूलक गतिविधिले समाजमा सहकार्य, सहयोग र मानवीय संवेदनाको भावना बलियो बनाउँछ। श्रीकृष्ण जन्माष्टमीमा गरिएको निःशुल्क मही वितरण त्यसकै एउटा उदाहरण बनेको छ। धार्मिक संस्कारलाई समुदायको आवश्यकतासँग जोड्न सके पर्व केवल पूजाआराधनामा सीमित नभई सामाजिक सद्भाव र सेवाको माध्यम पनि बन्न सक्छ।











