काठमाडौँ, १३ असोज । लगातारको वर्षा र प्राकृतिक विपत्तिका कारण चीनसँग जोडिएका नेपालका तीनवटै प्रमुख स्थल व्यापारिक नाका बन्द भएका छन्। तातोपानी, रसुवागढी र कोरला नाका एकपछि अर्को बन्द भएपछि दसैंको मुखमा चीनबाट हुने वस्तु आयातको आपूर्ति शृंखला प्रभावित भएको छ।
चालु आर्थिक वर्षको पहिलो दुई महिनामै नेपालले चीनबाट ७६ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको वस्तु आयात गरिसकेको भन्सार विभागको तथ्यांक छ। तर, पछिल्लो विपत्तिपछि चीनबाट सामान भित्र्याउने प्रमुख स्थलमार्ग नै अवरुद्ध हुँदा व्यापार र बजार आपूर्तिमा दबाब बढेको छ।
पहिरोको जोखिमपछि तातोपानी–खासा नाका बन्द भएको थियो। भदौ १० गते भोटेकोसीमा आएको बाढीले रसुवागढी नाकाको संरचनामा ठूलो क्षति पुर्याएपछि उक्त नाका पनि प्रभावित भयो। यी दुई नाका बन्द भएपछि विकल्पका रूपमा प्रयोग हुन थालेको मुस्ताङको कोरला नाका पनि कालीगण्डकीमा आएको बाढीका कारण सडक सम्पर्कबाट विच्छेद भएको छ।
कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गअन्तर्गतका पुल तथा एप्रोच सडकमा क्षति पुगेपछि कोरला हुँदै काठमाडौं आउने मालवाहक सवारी रोकिएका छन्। भन्सार कार्यालय र नाका क्षेत्र सुरक्षित रहे पनि बेनी–जोमसोम सडक खण्डमा भएको क्षतिले व्यापारिक आवागमन ठप्प भएको हो।
सडकमै रोकियो दसैंको व्यापार
तातोपानी र रसुवागढी बन्द भएपछि कोरलामा व्यापारिक चाप बढेको थियो। भदौ १० देखि २५ गतेसम्म मात्रै कोरला नाकाबाट ४३४ कन्टेनर र ६४१ विद्युतीय सवारी नेपाल भित्रिएका थिए। भदौ अन्तिम सातासम्म मुस्ताङ भन्सारले २ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको थियो।
व्यवसायीका अनुसार दसैंका लागि मगाइएका सामानमध्ये काठमाडौंमा करिब २० देखि ३० प्रतिशत मात्र आइपुगेको छ। आरबी कम्प्लेक्स व्यवसायी संघका अध्यक्ष परशुराम दाहालले बाटोमै सामान रोकिँदा आगामी आपूर्तिमा ढुवानी लागत बढ्ने र वस्तुको मूल्य २५ देखि ३० प्रतिशतसम्म बढ्न सक्ने बताएका छन्।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठले तीनवटै नाका बन्द हुँदा व्यवसायी, बजार र आपूर्ति प्रणाली प्रभावित भएको बताए। उनका अनुसार कोरला नाकामा भन्सार पूर्वाधार, जनशक्ति, नेटवर्क र सडकको समस्या पनि कायमै छ।
मुस्ताङ भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत विदुर चुडालका अनुसार अहिले डेढ सयभन्दा बढी मालवाहक गाडी तथा कन्टेनर भन्सार क्षेत्रमा रोकिएका छन्। यार्ड र नाका क्षेत्रमा ३ देखि ४ सय विद्युतीय सवारी तथा खाली–भरिएका कन्टेनर थन्किएका छन्।
सडक विभागले क्षतिग्रस्त सडक मर्मतको काम तीव्र बनाएको जनाएको छ। तर, दसैंअघि नाका र सडक पूर्ण रूपमा सञ्चालनमा आउन नसके चीनबाट हुने आयात, बजार आपूर्ति र उपभोक्ता मूल्यमा थप दबाब पर्न सक्ने देखिएको छ।











