२२ कार्तिक २०८३, आईतवार
Follow us :

चाडपर्वमा अपराध रोक्न प्रहरीलाई महानिरीक्षक केसीको निर्देशन

नेपाल प्रहरीको केनाइन कार्यालयमा कुकुर तिहार मनाइयो, उत्कृष्ट प्रहरी कुकुर पुरस्कृत

कान्तिपुर प्रेस

काठमाडौं । यमपञ्चकको दोस्रो दिन अर्थात् कुकुर तिहारको अवसरमा नेपाल प्रहरी केनाइन कार्यालय महाराजगञ्जमा कुकुर पूजा तथा सम्मान कार्यक्रम आयोजना गरिएको छ।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी नायब महानिरीक्षक ओमबहादुर रानाले प्रहरी कुकुरको प्रतिमामा माल्यार्पण गर्नुका साथै कार्यालयमा रहेका विभिन्न जातका कुकुरको पूजा गरेका थिए।

सो अवसरमा उनले यस वर्ष अपराध अनुसन्धान तथा खोज कार्यमा उत्कृष्ट प्रदर्शन गर्ने प्रहरी कुकुर ‘लियो’, दौड प्रतियोगितामा प्रथम हुने ‘तोजो’, बाधापार प्रतियोगितामा प्रथम हुने ‘रोज’ र आज्ञापालन प्रतियोगितामा प्रथम हुने ‘छुपी’लाई पुरस्कृत गरे।

कार्यक्रममा रानाले अपराध अनुसन्धान तथा सुरक्षा कार्यमा नेपाल प्रहरीको केनाइन सेवाले खेल्दै आएको महत्त्वपूर्ण भूमिकाको चर्चा गर्दै आगामी दिनमा यस सेवालाई थप प्रभावकारी बनाउन व्यावसायिक जनशक्ति र भौतिक स्रोतसाधनयुक्त बनाउनुपर्ने बताए।

केनाइन सेवाले केन्द्रीय स्तरमा मात्र नभई प्रदेश स्तरमा समेत उत्कृष्ट कार्यसम्पादन गर्दै आएको उनले उल्लेख गरे।कार्यक्रममा प्रहरी कर्मचारी तथा प्रहरी कुकुरहरूले पुष्पवृष्टि, आज्ञापालन, बाधापार र दौड प्रतियोगितालगायत विभिन्न मनोरञ्जनात्मक प्रदर्शन गरेका थिए।

कार्यक्रममा प्राविधिक प्रहरी उपरीक्षक डा. रामचन्द्र सत्यालले धन्यवाद मन्तव्य तथा प्राविधिक प्रहरी नायब उपरीक्षक डा. चेतनारायण ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।नेपाल प्रहरीले अपराध अनुसन्धान तथा खोज कार्यलाई तथ्यपरक र प्रमाणमुखी बनाउन लामो समयदेखि विशेष तालिमप्राप्त कुकुरको प्रयोग गर्दै आएको छ।

 

२२ कार्तिक २०८३, आईतवार १४:१६ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०