ललितपुर, ठैब। “जहाँ एकता र धर्म हुन्छ, त्यहाँ समृद्धि र शान्ति छाउँछ” भन्ने भनाइलाई सार्थक तुल्याउँदै गोदावरी नगरपालिका–१४, ठैबस्थित माखबुँमा स्थानीयवासीको सामूहिक प्रयास र धार्मिक आस्थाको प्रतीकका रूपमा श्री विष्णुनारायण मन्दिर निर्माण सम्पन्न भएको छ।
मन्दिर निर्माणका लागि आफ्नो अमूल्य जग्गा दान गर्नुहुने रामेश्वर बोहरा र अम्बिका बोहरा दम्पतीलाई माखबुँमा आयोजित एक समारोहबीच हार्दिक धन्यवादसहित उच्च सम्मान गरिएको छ। धार्मिक तथा सामाजिक दृष्टिले भूमिदानलाई महत्वपूर्ण दानका रूपमा लिइने भएकाले बोहरा दम्पतीको योगदानलाई स्थानीयवासीले विशेष रूपमा स्मरण गरेका छन्।
धर्म पूजापाठ र मन्दिरमा मात्र सीमित नभई यसले समाजमा अनुशासन, सद्भाव, सहकार्य र एकताको भावना विकास गराउने विश्वास गरिन्छ। यही भावनालाई आत्मसात् गर्दै माखबुँका टोलवासीले आ–आफ्नो क्षमताअनुसार आर्थिक सहयोग जुटाउँदै हातमा हात र काँधमा काँध मिलाएर मन्दिर निर्माण गरेका हुन्।

स्थानीयवासीको सामूहिक प्रयासबाट निर्माण भएको मन्दिरले धार्मिक आस्थाको संरक्षणसँगै सामाजिक एकताको सन्देशसमेत दिएको छ। यसले भावी पुस्तालाई आफ्नो धर्म, संस्कृति, परम्परा र सामुदायिक सहकार्यको महत्व बुझाउन प्रेरणा दिने विश्वास गरिएको छ।
रामचन्द्र बेलबासेको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा गोदावरी नगरपालिकाकी नगर उपप्रमुख मुना अधिकारी तथा गोदावरी नगरपालिका–१४, ठैबका वडाध्यक्ष निरोज बज्राचार्य विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रमको अर्को अनुकरणीय पक्षका रूपमा स्थानीय १० जनाभन्दा बढी ज्येष्ठ नागरिक आमाबुबालाई विशेष सम्मानका साथ अतिथिका रूपमा आसन ग्रहण गराइएको थियो। ज्येष्ठ नागरिकप्रतिको सम्मान र पुस्तान्तरणको भावनालाई प्राथमिकता दिइएको उक्त कार्यको सहभागीहरूले प्रशंसा गरेका थिए।

मन्दिर निर्माणमा सहयोग गर्नुहुने सबै दाताको योगदान उत्तिकै महत्वपूर्ण र स्मरणीय रहेको आयोजकले जनाएको छ। मन्दिर समितिसँग सबै सहयोगी दातालाई सम्मानपत्र प्रदान गर्न पर्याप्त बजेट नभएका कारण हाललाई रु. ५ हजारभन्दा बढी आर्थिक सहयोग गर्नुहुने दाताहरूलाई सम्मानपत्रसहित विशेष सम्मान गरिएको छ।
आफ्नो व्यस्त समयका बाबजुद निमन्त्रणा स्वीकार गरी कार्यक्रमको शोभा बढाइदिनुहुने प्रमुख अतिथि, विशेष अतिथि, ज्येष्ठ नागरिक आमाबुबा तथा उपस्थित सम्पूर्ण महानुभावप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेको छ।
मन्दिर निर्माण तथा सम्मान कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष र अप्रत्यक्ष रूपमा तन, मन र धनले सहयोग गर्नुहुने सम्पूर्ण टोलवासी, दाता तथा शुभेच्छुकप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ। स्थानीयवासीको सामूहिक प्रयासबाट निर्माण भएको श्री विष्णुनारायण मन्दिर धार्मिक आस्था, सामाजिक एकता र सामुदायिक सहकार्यको प्रेरणादायी उदाहरण बनेको छ।












