काठमाडौं । नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालको सहकार्यमा स्थापना गरिएको १० शय्याको ‘नबिल बर्न केयर वार्ड’ मंगलबार उद्घाटन गरिएको छ ।नबिल बैंकका सञ्चालक समिति अध्यक्ष निर्वाण कुमार चौधरी र धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा. रामकण्ठ माकाजु श्रेष्ठले संयुक्त रूपमा वार्डको उद्घाटन गरेका हुन् ।
नेपालमा विशिष्टीकृत जलन उपचार तथा पुनःस्थापना सेवाको पहुँच विस्तार र गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले वार्ड स्थापना गरिएको हो । नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम ‘नबिल केयर’ अन्तर्गत स्थापना भएको यस वार्डले जलनका बिरामीलाई विशेषज्ञतायुक्त तथा बिरामी केन्द्रित उपचार सेवा उपलब्ध गराउन अस्पतालको क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।
यसअघि नबिल केयरले सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र मधेश प्रदेशमा निःशुल्क जलन शल्यक्रिया शिविर सञ्चालन गर्दै आएको थियो । नयाँ वार्डको स्थापनाले उक्त अभियानलाई थप विस्तार गरेको बैंकले जनाएको छ ।
उद्घाटन समारोहमा बोल्दै अध्यक्ष चौधरीले समाजका महत्वपूर्ण आवश्यकता सम्बोधन गर्न निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको बताए । उनले संस्थागत सामाजिक उत्तरदायित्वमार्फत समाजप्रतिको दायित्व निर्वाह गर्न बैंक प्रतिबद्ध रहेको उल्लेख गरे ।
त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले जलनसम्बन्धी विशिष्टीकृत स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच विस्तार गर्न सहकार्य आवश्यक रहेको बताए ।धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा. माकाजु श्रेष्ठले बैंकको सहयोगप्रति आभार व्यक्त गर्दै यस सहकार्यले नेपालमा विशिष्टीकृत जलन उपचार सेवाको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
जलनबाट प्रभावित व्यक्तिलाई तत्काल उपचारसँगै शल्यक्रिया, दीर्घकालीन पुनःस्थापना तथा मनोसामाजिक सहयोग आवश्यक पर्ने भएकाले नयाँ वार्डले यस्ता सेवाको पहुँच सहज बनाउने अपेक्षा गरिएको छ ।
‘सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवा’ भन्ने मान्यताका साथ सञ्चालन हुँदै आएको धुलिखेल अस्पताल र नबिल बैंकबीचको यो सहकार्यले नेपालमा जलन उपचार सेवाको गुणस्तर तथा पहुँच विस्तारमा सहयोग पुग्ने विश्वास गरिएको छ ।नबिल बैंकले वित्तीय सेवासँगै ‘नबिल केयर’ लगायतका सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत समुदायको सामाजिक तथा आर्थिक विकासमा योगदान पुर्याउँदै आएको छ ।











