९ मंसिर २०८३, बुधबार
Follow us :

देशवासीले गगन थापा नेतृत्वको काँग्रेसलाई नै नेपाली काँग्रेस भनेर चिनेका छन् : राई

देशवासीले गगन थापा नेतृत्वको काँग्रेसलाई नै नेपाली काँग्रेस भनेर चिनेका छन् : राई

कान्तिपुर प्रेस

काठमाडौँ । नेपाली काँग्रेसका संसदीय दलका प्रमुख सचेत एवं केन्द्रीय सदस्य निश्कल राईले आम देशवासीले गगनकुमार थापा नेतृत्वको नेपाली काँग्रेसलाई नै आधिकारिक काँग्रेसका रूपमा चिनेको बताएका छन्।बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै राईले काँग्रेसले सञ्चालन गर्न लागेको ‘काँग्रेस तयार छ’ अभियानलाई गाउँ, वडा र टोल तहसम्म विस्तार गर्ने विषयमा पार्टी बैठकमा छलफल भइरहेको जानकारी दिए।राईका अनुसार संविधान र लोकतान्त्रिक व्यवस्था संरक्षणका लागि नागरिकको विश्वास जित्न काँग्रेस तयार रहेको सन्देश तल्लो तहसम्म पुर्‍याउने विषयमा केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन्।

उनले पार्टीको आधिकारिकता सम्बन्धी विवाद समाप्त भइसकेको दाबीसमेत गरे। सभापति गगनकुमार थापा नेतृत्वको काँग्रेसलाई नै आम नागरिकले नेपाली काँग्रेसका रूपमा चिन्ने उनको भनाइ थियो।पार्टीको झण्डा र रूख चिह्न प्रयोग गरी अन्य पक्षले कार्यक्रम आयोजना गरे त्यसको विषयमा पार्टीभन्दा निर्वाचन आयोगले हेर्नुपर्ने राईले बताए।

‘बैठकमा काँग्रेस तयार छ भन्ने अभियान कसरी अगाडि बढाउने र उक्त अभियानलाई कसरी जनतामाझ पुर्‍याउन सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘नेपाली काँग्रेस आगामी दिनमा हुने स्थानीय र प्रदेश निर्वाचनका लागि तयार छ। अहिले आम देशवासीले नेपाली काँग्रेस भनेर चिनेको सभापति गगनकुमार थापा नेतृत्वको नेपाली काँग्रेस हो।’

उनका अनुसार बैठकमा सहभागी केन्द्रीय सदस्यहरूले पार्टीको संगठनात्मक अवस्था, समसामयिक राजनीतिक परिस्थिति तथा पार्टीले अवलम्बन गर्नुपर्ने नीतिगत विषयमा आ–आफ्ना धारणा प्रस्तुत गरिरहेका छन्।काँग्रेसको बैठक बिहीबार बिहान ११ बजे पुनः बस्ने गरी बोलाइएको छ।

 

९ मंसिर २०८३, बुधबार २०:४० मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०