२७ माघ २०८२, सोमबार
Follow us :

छठ पर्वले राष्ट्रिय एकता र सद्भाव सुदृढ पार्नेछ : राष्ट्रपति पौडेल

कान्तिपुर प्रेस

राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीबीचको राष्ट्रिय एकता र आपसी सद्भावलाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ।

छठ पर्व–२०८२ का अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले भन्नुभएको छ, “यस पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरिति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु।”

राष्ट्रपति पौडेलले छठ पर्वले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि पनि प्रेरक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँका अनुसार सूर्य, जल र पृथ्वीप्रति श्रद्धा अर्पण गर्दै छठी माताको पूजा, अर्चना र व्रत गरी रातभर खोला, पोखरी तथा तालतलैयाको किनारमा जाग्राम बस्ने परम्पराले धार्मिक आस्था मात्र होइन, प्रकृतिप्रतिको सम्मानको पनि सन्देश दिन्छ।

छठ पर्वको अवसरमा राष्ट्रपति पौडेलले सूर्यविना पृथ्वीमा जीवन सम्भव नरहने सन्दर्भलाई आत्मसात् गर्दै तन, मन र आत्माबाट पूजा–अर्चनामा समर्पित रहनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म जल प्रवाह हुने स्थानमा रहेर अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ्य दिई आराधना गर्नाले मानिसमा प्रकृति प्रतिको दायित्वबोध, पर्यावरणीय चेतना र पारिवारिक तथा सामाजिक ऐक्यबद्धता अभिवृद्धि हुने विश्वास गरिएको छ।”

जनविश्वासअनुसार छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल प्राप्त हुने, परिवारमा कल्याण हुने र दुःख–कष्ट हट्ने विश्वास रहिआएको छ।

११ कार्तिक २०८२, सोमबार ०६:४६ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०