जापानको कार्यबल घट्दै जाँदा, कम्पनीहरूले युवा कामदारहरूलाई आकर्षित गर्न रचनात्मक तरिकाहरू अपनाइरहेका छन्।द सनको रिपोर्ट अनुसार, ठूला जापानी कम्पनीहरूले तलब बढाइरहेकाे समयमा, धेरै तलब दिन नसक्ने साना कम्पनीहरूले यस्ता तरिका अपनाएका हुन् । यी कम्पनीहरूले केही अन्य प्रकारका बिदा सुविधाहरू प्रदान गरिरहेका छन्।
जापानमा कामदारको अभाव र जागिरका लागि निकै कम आवेदन आइरहेका कारण कम्पनीहरूले अनौठा र रमाइलो बिदाहरू ल्याइरहेका छन्। ओसाकास्थित प्राविधिक कम्पनी ट्रस्टिङले आफ्नो कार्यस्थलमा कर्मचारीहरूलाई आकर्षित गर्न विभिन्न असामान्य अवकाश विकल्पहरू प्रस्तुत गरेको छ।
ह्याङओभर भएमा बिदा लिन सकिने
अब, यस कम्पनीका कर्मचारीहरूले ह्याङओभरको लागि बिदा लिन पाउनेछन्। यसले उनीहरूलाई आराम गर्न र पुनः ताजा महसुस गर्दै काममा फर्कने मौका दिने कम्पनीकाे भनाइ छ। अघिल्लो रात रक्सी पिएर दिउँसो कार्यालय आइपुगेका एक कर्मचारीले थप आरामले उत्पादकत्वमा उल्लेखनीय सुधार भएको बताएका छन्।
मनपर्ने सेलिब्रेटीसँग सम्बन्धित अप्रत्याशित समाचारमा पनि बिदा पाइने
यसैगरी, कम्पनीले ‘सेलिब्रेटी लस लिभ’ पनि दिने गर्छ। यसले कर्मचारीहरूलाई उनीहरूको मनपर्ने सेलिब्रेटीले विवाह जस्तो ठूलो घोषणा गरेमा समय निकाल्न अनुमति दिन्छ। २०२१ मा, जब एक जापानी संगीतकार तथा अभिनेता जेन होशिनोले अभिनेत्री युई अरागाकीसँग आफ्नो विवाह हुने खुलासा गरे, एक कर्मचारीले बिदा पाएका थिए।
उच्च तलब भन्दा बढी आकर्षक छ बिदाकाे यो नीति
कम्पनीका अध्यक्ष दाइगाकु शिमादाले अन्य कम्पनीहरूले कर्मचारीहरूलाई सुरुवाती तलब प्रति महिना २ लाख २२ हजार येन (१ हजार ४०० अमेरिकी डलर) र ओभरटाइम तलब दिइने भए तापनि यी नीतिहरूले उनीहरूलाई यस क्षेत्रमा प्रतिस्पर्धी रहन मद्दत गर्ने बताए। अब, यो बिदाको रणनीतिले काम गरिरहेको देखिन्छ। यसो गरेर, ट्रस्टिङले बलियो व्यावसायिक प्रदर्शन हासिल गरेको छ र विगत तीन वर्षमा कुनै पनि कर्मचारीले राजीनामा दिएका छैनन्।
कर्मचारीहरूको लागि कार्यालयमै बार
कार्यस्थलको अनुभवलाई थप राम्राे बनाृउनकालागि कम्पनीले कार्यालयमा एउटा बार पनि राखेको छ। यस्ता अनौठा सुविधाहरूको बारेमा अनलाइनमा धेरै छलफल भइरहेको छ। धेरैले यो विचारको प्रशंसा पनि गरेका छन्। केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले त्यहाँका कर्मचारीहरूले थप बिदा लिनको लागि केही मनपर्ने सेलिब्रेटीहरू खोज्नुपर्छ भनेर ठट्टा समेत गरेका छन्।
दुखी बिदाकाे पनि सुविधा
यसैगरी, चीनमा पनि यस्तै तरिका अपनाइएको छ। यहाँ, सुपरमार्केट चेन पाङडोङलाईले “अनह्यापी लिभ” प्रदान गर्दछ। यदि, कर्मचारीहरूले तनाव वा असन्तुलन महसुस गरेमा, उनीहरूले थप १० दिन बिदा लिन सक्छन्। संस्थापक यु डोङलाईले कर्मचारीहरूलाई आवश्यक पर्दा बिदा लिने स्वतन्त्रता दिनुको महत्त्वमा जोड दिन्छन्।