१७ बैशाख २०८३, बिहीबार
Follow us :

हिमपात र वर्षाले हजारौं पर्यटक प्रभावित, पदयात्रा रोक

कान्तिपुर प्रेस

काठमाडौं, कात्तिक १२ — देशका प्रमुख हिमाली जिल्लामा परेको लगातारको वर्षा र हिमपातका कारण हजारौं आन्तरिक तथा विदेशी पर्यटकको पदयात्रा प्रभावित भएको छ। पदमार्ग तथा सडक दुवै अवरुद्ध हुँदा पर्यटक विभिन्न स्थानमा अलपत्र परेका छन् भने प्रशासनले जोखिम कम गर्न पदयात्रा रोक्न सार्वजनिक अनुरोध जारी गरेको छ।

मनाङ, मुस्ताङ, म्याग्दी, सोलुखुम्बु र गोरखा जिल्लाका माथिल्लो क्षेत्रमा सोमबार रातिदेखि परेको हिमपातले यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। मनाङमा मात्रै ७५० जना आन्तरिक तथा बाह्य पर्यटक र स्थानीयलाई उद्धार गरिएको छ। सोलुखुम्बुको लुक्लाभन्दा माथि करिब दुई हजार पर्यटक रहेका छन् भने लोबुचेमा २१० र गोरकक्षेपमा १२२ जना पर्यटक सुरक्षित अवस्थामा रहेको प्रशासनले जनाएको छ।

पदयात्रा स्थगनको आग्रह

मनाङ, मुस्ताङ र म्याग्दीका जिल्ला प्रशासन कार्यालयले हिमपात र खराब मौसमका कारण हाललाई पदयात्रा नगर्न सार्वजनिक सूचना जारी गरेका छन्। मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले पर्यटकको मुख्य सिजनमै परेको हिमपातले सम्पर्क मार्ग, सडक र पदमार्ग सबै प्रभावित भएको जानकारी दिए।

“हिमपातका कारण उपल्लो मनाङमै रोकिएका ७५० जना पर्यटक र स्थानीयलाई उद्धार गरिएको छ,” पौडेलले भने, “पर्यटक सबै सुरक्षित छन् तर मौसममा सुधार नआएसम्म जोखिमपूर्ण क्षेत्रतर्फ नजान आग्रह गरिएको छ।”

मुस्ताङ र सोलुखुम्बुमा पनि असर

मुस्ताङमा दैनिक सरदर पाँचदेखि सात हजार पर्यटक भित्रिने गरे पनि हिमपातका कारण जनजीवन अस्तव्यस्त बनेको छ। सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम परियारले कागबेनीदेखि उपल्लो मुस्ताङ जान रोक लगाइएको जानकारी दिए। “हालका लागि खानपिन र बसोबासमा समस्या छैन,” परियारले भने, “३५० वटा होटेलमा एक रातमा १२ हजार पाहुना अट्ने क्षमता भएकाले व्यवस्थापन सहज छ।”

सोलुखुम्बुमा पनि हिमपातले पर्यटन प्रभावित भएको छ। प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेले खुम्बु पासाङल्हामु गाउँपालिकाको दिङ्बोचेभन्दा माथि बाक्लो हिमपात र तल्लो क्षेत्रमा वर्षा भइरहेको जानकारी दिइन्। कात्तिक १ देखि १० गतेसम्म लुक्लाबाट ५,३९० जना पर्यटक जिल्ला प्रवेश गरेका थिए।

अन्य क्षेत्रहरूमा पनि असर

गोरखाको लार्केपास र मनासलु क्षेत्रको भ्रमणमा गएका पर्यटक साम्दो र सामागाउँमा रोकिएका छन्। म्याग्दीको अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक लगाइएको छ। सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ भने पर्यटक सुरक्षित रहेको जनाइएको छ।

पर्यटन विभागले आरोहण तथा पदयात्राका क्रममा समस्यामा परेका पर्यटकलाई उद्धार गर्न सम्पर्क व्यक्ति तोकेको छ। मौसममा सुधार नआएसम्म हिमाली क्षेत्रको भ्रमणमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

१३ कार्तिक २०८२, बुधबार ०६:३५ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०