२९ पुष २०८२, मंगलवार
Follow us :

प्रधानमन्त्रीको आह्वानमा त्रिपक्षीय संवाद आज, निर्वाचन तयारी तीव्र

कान्तिपुर प्रेस

काठमाडौं, कात्तिक १२ — प्रधानमन्त्री सुशीला कार्कीको पहलमा आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू तथा जेनजीका प्रतिनिधिबिच त्रिपक्षीय संवाद हुने भएको छ। भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि गठित सरकारको अग्रसरतामा पहिलो पटक यस्तो संवाद हुन लागेको हो।

प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरण निर्माणका लागि सम्बद्ध पक्षसँग सघन वार्ता र छलफल गरिरहनुभएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचन सफल बनाउन राजनीतिक दल र जेनजी प्रतिनिधिबिच संयुक्त बैठक आयोजना गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार चरणबद्ध वार्ता र छलफलमार्फत निर्वाचनको तयारीलाई गति दिइएको छ।

यसअघि कात्तिक ४ गते प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायत विघटित संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग संवाद गर्नुभएको थियो। उक्त बैठकमा दलहरूले निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्न वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरेका थिए।

प्रधानमन्त्री कार्कीले जेनजीका प्रतिनिधिसहित विभिन्न पक्षसँग निरन्तर संवाद गरिरहनुभएको छ। निर्वाचन आयोगसँग पनि सरकारको समन्वयमा प्राविधिक तयारीबारे गृहकार्य अघि बढाइएको छ। आयोगले आफ्नो क्षेत्राधिकारभित्रको काम आरम्भ गरिसकेको जानकारी दिइएको छ।

सरकारको यो पहलले निर्वाचनको वातावरण निर्माणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। आजको त्रिपक्षीय संवादबाट निर्वाचनको मार्गचित्र अझ स्पष्ट हुने विश्वास गरिएको छ।

१३ कार्तिक २०८२, बुधबार ०६:३८ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०