राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुईदिने विस्तारित बैठक चितवनको सौराहास्थित चित्रसारीमा सुरु भएको छ। बैठकले पार्टीको आगामी रणनीति, सांगठनिक पुनर्गठन, महाधिवेशनको तयारी र वैकल्पिक राजनीतिक शक्तिको निर्माणबारे गहन छलफल गर्नेछ।
पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले बैठकको उद्घाटन गर्दै राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ। उपसभापति डा. स्वर्णिम बाग्लेले आगामी निर्वाचनका लागि वाचापत्रको मस्यौदा पेस गर्नेछन्। महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन र सहमहामन्त्री विपिन आचार्यले उम्मेदवार चयनको विधिसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने तयारी गरेका छन्।
बैठकमा पार्टीका केन्द्रीय सदस्य, सचिवालय सदस्य, सल्लाहकार परिषद्, केन्द्रीय विभाग प्रमुख, प्रदेश सचिवालय सदस्य, प्रतिनिधिसभा क्षेत्रीय सभापति, जिल्ला सभापति, विदेशस्थित पार्टी संगठनका प्रतिनिधि तथा पालिकास्तरीय सभापतिहरू गरी ५१२ जना प्रतिनिधिको सहभागिता रहेको छ।
बैठकमा प्रदेश सभापतिहरूले आ–आफ्ना प्रदेशका सांगठनिक अवस्था प्रस्तुत गर्नेछन्। प्रस्तुत प्रतिवेदनहरूमा प्रतिनिधिहरूले सुझाव राख्ने र आवश्यक परे परिमार्जन गरी बैठक समापन गरिने केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिए।
बैठकमा आगामी फागुनमा प्रस्तावित महाधिवेशनबारे पनि निर्णय लिइनेछ। सरकारको निर्वाचन तयारीसँगै महाधिवेशनको मिति र स्वरूपबारे छलफल हुने जनाइएको छ।
पार्टी प्रवक्ता मनिष झाले बैठकमा पार्टीभित्रका फरक धारणा र विचारलाई सम्मान गर्दै सबै प्रतिनिधिलाई आफ्ना विचार राख्न अवसर दिइने बताए। उनले जेनजी आन्दोलनपछि सभापति रवि लामिछाने नख्खु कारागारबाट निस्केपछि उत्पन्न विवाद र त्यसले पार्टीमा पारेको प्रभावबारे पनि बैठकमा धारणा आउने जानकारी दिए।
खाना पार्टीको, आवास प्रतिनिधिको जिम्मा बैठकमा सहभागी प्रतिनिधिका लागि दुई दिनको खाना र खाजाको व्यवस्था पार्टीले गरेको छ। प्रत्येक प्रतिनिधिबाट १,५०० रुपैयाँ शुल्क तोकिएको छ। हल परिसरमै क्याटरिङमार्फत खाना पकाउने र खुवाउने व्यवस्था गरिएको छ।
आवासको व्यवस्था भने प्रतिनिधिले आफैं गर्नुपर्नेछ। सौराहाका होटलहरूमा साधारण कोठाको १,०००, मध्यमस्तरको २,००० र सुविधायुक्त कोठाको ३,००० रुपैयाँसम्म शुल्क निर्धारण गरिएको छ।
बैठक व्यवस्थापनका लागि पूर्वसांसद हरि ढकालको नेतृत्वमा १७ सदस्यीय मूल समिति र ७ वटा उपसमिति गठन गरिएको छ।
भावी कार्यदिशा तय गर्ने मोडमा रास्वपा बैठकमा विगतमा अंगिकार गरिएका विधि, सांगठनिक कमजोरी, भावी रणनीति र पार्टी संरचनाको पुनर्गठनबारे सघन बहस हुने नेताहरूले बताएका छन्। वैकल्पिक राजनीतिक शक्ति निर्माणका सम्भावनाबारे पनि गम्भीर छलफल हुने जनाइएको छ।
थप रूपमा, बैठकमा पार्टीको आन्तरिक एकता, नेतृत्वको भूमिकाबारे उठेका प्रश्न र आगामी निर्वाचनमा पार्टीको रणनीतिक उपस्थितिबारे स्पष्ट दिशा तय गरिने अपेक्षा गरिएको छ।











