काठमाडौं, कात्तिक २१ — जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको जनधनको क्षतिबारे अनुसन्धान गर्न गठित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले सुरक्षाकर्मीको तहगत बयानको तयारी थालेको छ। घटनाका दिन फिल्डमा खटिएका अधिकारीहरूको विवरण आंशिक रूपमा प्राप्त भएपछि आयोगले जिम्मेवार व्यक्तिको पहिचान गर्दै बयान प्रक्रिया अघि बढाएको हो।
आयोगले तीन साताअघि प्रहरीलाई उपत्यका तथा उपत्यकाबाहिरका फिल्ड कमान्डरहरूको विवरण माग गरेको थियो। विवरण नआएपछि बुधबार आयोगले प्रहरी महानिरीक्षकलाई कारबाही किन नगर्ने भन्दै स्पष्टीकरण पत्रसमेत पठाएको थियो। सो पत्रपछि आयोगले केही विवरण प्राप्त गरेको हो।
आयोगका प्रवक्ता विज्ञानराज शर्माले उपत्यका र संसद क्षेत्रका सुरक्षार्थ खटिएका अधिकारीहरूको विवरण प्राप्त भएको जानकारी दिए। “प्राप्त विवरणलाई प्राथमिकीकरण गरेर थप प्रक्रिया अघि बढाइँदैछ,” शर्माले भने।
बिहीबार आयोगले उपत्यकाका विभिन्न कार्यालय र संघीय संसदसँग सम्बन्धित सुरक्षा कमान्डरहरूको विवरण पठाएको छ। तर देशभरका सबै विवरण आयोगले अझै प्राप्त गरिसकेको छैन।
यसअघि प्रहरीले आन्दोलनका दुई दिन सम्पूर्ण जनशक्ति फिल्डमा रहेको जवाफ दिएको थियो। जवानदेखि महानिरीक्षकसम्म फिल्डमा रहेको विवरणले आयोगलाई असन्तुष्टि जनाउन बाध्य बनाएको थियो। आयोगले पुनः स्पष्ट विवरण माग गर्दै पत्राचार गरेको थियो।
आयोगले आन्दोलनका क्रममा भएको क्षतिको विवरण र उजुरी संकलन कार्य पनि तीव्र बनाएको छ। सम्बन्धित कार्यालयहरूले क्षतिको विवरण धमाधम पठाइरहेका छन्। आयोगका अध्यक्ष र सदस्यहरूको टोलीले आन्दोलन प्रभावित जिल्लाको अनुगमन र अन्तर्क्रिया गरिसकेको छ।
भदौ २४ गतेको घटनामा केन्द्रित भएर आयोगले नक्खु कारागारका प्रमुख सत्यराज जोशीसँग बयान लिइसकेको छ। सोही प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि आयोगले बयान लिइसकेको छ।
आयोगले घटनामा संलग्न अन्य व्यक्तिहरूको बयानका लागि प्रश्नावली निर्माण गरिसकेको छ। अब बयानको चरण सुरु हुँदैछ, जसबाट आन्दोलनको वास्तविकता उजागर हुने अपेक्षा गरिएको छ।











