९ चैत्र २०८१, आईतवार
Follow us :

नेप्सेको नयाँ नीति: सर्किट लगाएर मूल्य बढाउने चलन अन्त्य हुने

कान्तिपुर प्रेस

दोस्रो बजारमा अन्तिम सेकेण्डमा मार्केट “एमकेटी” गर्दै शेयरको मूल्य बढाएर सर्किट लगाउनेहरूको दिन सकिने भएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले यस अघि कायम हुने गरेको अन्तिम शेयरको कारोबार मूल्य गणना गर्ने विधि परिवर्तन गर्ने निर्णय गरेको छ।

यसअघि दोस्रो बजारमा अन्तिम समयमा जुन मूल्यमा कारोबार हुने गरेको थियो। सोही मूल्यबाट भोलिपल्ट कारोबार सुरु गराउने गरेको थियो। तर अब नेप्सेले अन्तिम १५ मिनेटको कारोबारको भारित औसत मूल्यको आधारमा अन्तिम मूल्य तय गर्ने निर्णय गरेको छ। अब दुई बजेर ४५ मिनेट देखि तीन बजेसम्म हुने कारोबार मूल्यहरूको भारित औसत मूल्य नै भोलिपल्टको पहिलो कारोबार मूल्य हुने छ। जसको २ प्रतिशत तल वा माथि लगानीकर्ताले आदेश दाखिला गर्न सक्ने छन्। “नेप्सेले दोस्रो बजारमा कारोबार हुने कम्पनीको अन्तिम कारोबार मूल्य कायम गर्ने विधि परिवर्तन गर्ने निर्णय गरेको छ। अब २ बजेर ४५ मिनेटदेखि तीन बजेसम्मको भारित औसत मूल्य नै अन्तिम कारोबार मूल्य हुने छ। जुन निर्णय नेप्सेको सञ्चालक समिति बैठकले गरिसकेको छ। त्यसको जानकारी धितोपत्र बोर्डलाई दिइ सकिएको छ। एक/दुई दिनमा नै सो नियम दोस्रो बजारमा लागु हुने छ,” नेप्सेका कायममुकायम प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयाँलले मेरोलगानीसँग भने।

पछिल्लो समय अन्तिम सेकेन्डमा सर्किट लगाएर मूल्य बढाउने विसङ्गती असाध्यै धेरै बढेको थियो। हरेक दिन जसो कुनै न कुनै कम्पनीमा यस्तो प्रवृत्ति दोहोरिँदै आएको थियो। बजार घट्दो समयमा होस् या बढ्दो लयमा रहँदा यस्तो प्रवृत्ति बारम्बार दोहोरिने गरेको थियो। खासगरी यस अघि अन्तिम कारोबार मूल्यलाई नै क्लोजिङ प्राइस मानिने भएकोले यस्तो प्रवृत्ति दोहोरिँदै आएको थियो। नेप्सेको क्लोजिङ प्राइस र दिनभरिमा बढ्न सक्ने प्रतिशतको लुप होलमा स्पेकुलेटरहरुले खेल्ने गरेका थिए। नेप्सेको सिस्टमले एक दिनमा १० प्रतिशतसम्म बढ्न सक्ने र १० प्रतिशतसम्म नै घट्न दिने गरेको थियो। तर सर्किट लाउन खोज्नेले कारबारको सुरुवाती सेकेन्डमा नै कम्पनीको मूल्य १० प्रतिशतसम्म बढाउने गर्थे। त्यो पनि असाध्यै कम कित्ता शेयरको कारोबारमा। दिनभरि पुन: तल्लो मूल्यमा नै कारोबार गराएर अन्तिममा एमकेटी प्रयोग गर्दै १० प्रतिशत बढाउने गरिन्थ्यो। जसले एकै पटक अघिल्लो कारोबार र पछिल्लो कारोबार मूल्य आठ प्रतिशतसम्मको फरक पर्ने गरेको भेटिनु सामान्य जस्तै बनेको थियो।

तर अब एमकेटी फिचर जुन प्रयोजनको लागि उपलब्ध गराइएको हो। त्यसको लागि मात्रै प्रयोग हुने छ। अन्तिम मिनेटमा एमकेटी गरेर शेयर किने वा बेचे पनि त्यसको अर्थ हुने छैन। अन्तिम मूल्य भारित औसतमा नै तय हुने छ। जसले यसअघि अन्तिम मूल्य कायम गराउनकै लागि गरिने एमकेटीको अभ्यास अन्त्य हुँदै जाने फुयाँलको भनाई छ।

अन्तिम कारोबार मूल्य तय गर्ने विधि अपनाउन लागिएको विषय भने नयाँ होइन। तर कार्यान्वयन भने पहिलो पटक हुन लागेको हो। नेप्सेको धितोपत्र कारोबार सञ्चालन बिनियमावली,२०७५ मा यो व्यवस्था पहिले देखिनै छ। उक्त बिनियमावलीको विनियम ११ मा कारोबार सञ्चालन सम्बन्धी व्यवस्था छ। जसको (१)को (ग)मा अन्तिम कारोबार सत्रको बारेमा उल्लेख छ। जुन अपरान्ह तीन बजेदेखि तीन बजेर पाँच मिनेटसम्म सञ्चालन हुने उल्लेख छ। तर उक्त समय नेप्सेले परिवर्तन गर्न सक्ने पनि छुट विनियमावलीले दिएको छ। सोही कारण नेप्सेले पौने तीन बजेदेखि तीन बजेसम्मको समय लिन लागेको हो। विनियमावलीमा समेत औसत गणनाको लागि नेप्सेले समय तथा कारोबार सङ्ख्या तोक्ने सक्ने भनेको छ।

६ फाल्गुन २०८१, मंगलवार १५:२४ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०