१ माघ २०८२, बुधबार
Follow us :

मेलम्चीको पानी आपूर्ति बन्द, स्थानीयको माग कार्यान्वयनको दबाब

कान्तिपुर प्रेस

काठमाडौँ, कात्तिक २१ — मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौँमा पथान्तरण गरिने पानी बिहीबारदेखि पूर्णरूपमा बन्द गरिएको छ। विसं २०७८ को बाढीपहिरो पीडित, भेण्डर तथा अन्य सरोकार समितिहरूले आफ्ना माग पूरा नभएको भन्दै मुहान क्षेत्रमै पानी बन्द गरेका हुन्।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासका अनुसार, गत वर्ष तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै स्थानीयवासीले मुहान बन्द गरेका हुन्। “बिहीबार दिउँसोदेखि मेलम्चीको पानी काठमाडौँमा पूर्णरूपमा रोकिएको छ,” दासले जानकारी दिनुभयो।

गत असारमा वर्षा सुरु भएपछि बन्द गरिएको मेलम्चीको पानी आपूर्ति असोज २६ गतेदेखि पुनः सुरु गरिएको थियो। तर, पीडित समूहले माग सम्बोधन नभएको भन्दै पुनः आपूर्ति अवरुद्ध गरेका हुन्।

सिन्धुपाल्चोक र काभ्रेका चार वटा सरोकार समितिले एक हप्ता अघि काठमाडौँको पानीपोखरीस्थित मेलम्ची खानेपानी कार्यालयमा तालाबन्दीसमेत गरेका थिए। कार्यकारी निर्देशक दासले आन्दोलनरत पक्षसँग संवाद गरी समाधान खोजिने बताउनुभयो।

२२ कार्तिक २०८२, शुक्रबार १५:२२ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०