ललितपुर/ २२ कातिक: ललितपुर महानगरपालिकाको उपप्रमुख मञ्जली शाक्यले संस्कृति संरक्षणका लागि हामी सबै मिलेर अगाडि बढ्नुपर्छ भन्नुभएको छ।
राष्ट्रिय संवत् ११४६ को अवसरमा ताम्राकार समाजले आज शनिबार उग्रचण्डी मन्दिर परिसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्तव्य राख्नुहुँदै उपप्रमुख शाक्य बज्राचार्यले नेपाल संवतले सम्पूर्ण नेपालीहरुलाई एकतामा बाँध्दै समृद्धि हासिल गर्न सहयोग पुर्याउने बताउनुभयो।
“संस्कृति सम्पदा संरक्षणमा हामीले ध्यान दिनुपर्ने आवश्यकता छ, हाम्रो परम्पराको संरक्षण गर्न हामीले नै ध्यान दिनुपर्छ, हामीले सचेत र एकताबद्ध भएर नेपाललाई विश्वम चिनाउन लाग्नुपर्छ।” उहाँले भन्नुभयो।
ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले ललितपुरको कला, संस्कृति र सभ्यतालाई जीवन्त राख्न देशका विभिन्न ठाउँबाट यहाँ बसोवास गर्न आएका मानिहरुलाई पनि समाहित गराएर यहाँको कला, संस्कृति र सभ्यताको ज्ञान, सीप र क्षमताको हस्तान्तरण गर्न सक्नुपर्नेमा जोड दिनुभयो।
नेपाल संवत् राष्ट्रिय न्हुदँ समारोह समिति ११४६ को अध्यक्ष प्रेमहिरा तुलाधरले नेपाल सम्वतलाई देश कामकाजी भाषाको रुपमा मान्यता दिनु खुसी र गौरवको बिषय भएको बताउँदै यो संवत् सम्पूर्ण नेपालीहरुको आफ्नै मौलिक संवत् भएको बताउनुभयो।











