काठमाडौं, कात्तिक २२ — नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुङ्गानाले पार्टीलाई समयानुकूल रूपान्तरण गर्दै युवाको प्रतिनिधित्व सुनिश्चित गर्न विधान संशोधनको माग गर्नुभएको छ। शुक्रबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै ढुङ्गानाले ‘जेन-जी’ आन्दोलनको भावना आत्मसात गर्दै पार्टीमा कम्तीमा २५ प्रतिशत युवा कोटा सुनिश्चित गर्नुपर्ने धारणा राख्नुभयो।
उहाँले पार्टीका सबै तहका समितिहरू र उम्मेदवार चयन प्रक्रियामा युवाको सहभागिता अनिवार्य गर्नुपर्ने बताउँदै, क्रियाशील सदस्यतामध्ये २० प्रतिशत ३० वर्षमुनिका युवालाई दिनुपर्ने प्रस्ताव गर्नुभयो। साथै, पार्टीभित्र ‘रिटायरमेन्ट’ र ‘कुलिङ पिरियड’को व्यवस्था लागू गरी संस्थागत रूपान्तरणको बाटो खोल्नुपर्नेमा उहाँले जोड दिनुभयो।
भ्रष्टाचारविरुद्ध कडा नीति अवलम्बन गर्नुपर्ने धारणा राख्दै ढुङ्गानाले भ्रष्टाचारको मुद्दा लागेमा पार्टी सदस्यलाई निलम्बन गर्ने र दोषी ठहरिएमा तीन गुणासम्म बिगो असुल गर्ने कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव गर्नुभयो। भाद्र २३ गतेको ‘जेन-जी’ आन्दोलनलाई उहाँले भ्रष्टाचारविरुद्धको युवा आवाजको रूपमा व्याख्या गर्नुभयो।
प्रतिनिधिसभा विघटनपछि निर्वाचनमा जानुपर्ने सन्दर्भमा उहाँले कांग्रेसले लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसात गर्दै सर्वोच्च अदालतको निर्णयलाई स्वीकारेर अघि बढ्नुपर्ने बताए। निर्वाचनअघि महाधिवेशन गर्ने वा नगर्ने विषयमा पार्टीलाई अलमलमा पार्न नहुने भन्दै ढुङ्गानाले महाधिवेशनले विगतमा पारेको प्रभावको सूक्ष्म अध्ययन गरी स्पष्ट कार्यतालिका तय गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले निष्कर्षमा भने, “आम कार्यकर्ताको भावना समेट्ने गरी पुनर्गठित र रूपान्तरित कांग्रेसका साथ निर्वाचनमा जानु आजको आवश्यकता हो।”











