६ माघ २०८२, सोमबार
Follow us :

तनाव बिसर्जन कार्यशाला सम्पन्न : जीवन विज्ञानमार्फत आत्मजागरण र समुन्नत जीवनशैलीतर्फको यात्रा

कान्तिपुर प्रेस

ललितपुर, मंसिर २२। तनावमुक्त जीवनशैलीको अभ्यास, आत्मजागरणको अनुभूति र समुन्नत समाज निर्माणको संकल्पसहित गोदावरी नगरपालिकाको वडा नं. ४ बडिखेलमा एकदिने “तनाव बिसर्जन प्रयोगात्मक कार्यशाला” सम्पन्न भएको छ। टौखेल जीवनयोग प्रयोगशालाको आयोजनामा र वडा नं. ४ बडिखेल वडा कार्यालयको सहकार्यमा सम्पन्न उक्त कार्यशालामा गोदावरी नगरपालिकाका वडा नं. २, ३ र ४ अन्तर्गतका आठ जीवनयोग प्रयोगशालाका साधक–साधिका, प्रशिक्षक तथा जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यशालामा १३० भन्दा बढी सहभागीहरूले ध्यान, योग, प्रणायाम र जीवन विज्ञानका सिद्धान्तहरूमा आधारित व्यावहारिक अभ्यासमार्फत तनाव व्यवस्थापनका उपायहरू सिके। सहभागीहरूले दैनिक जीवनमा बढ्दो मानसिक दबाब, असन्तुलन र नकारात्मक सोचलाई कसरी रूपान्तरण गर्ने भन्ने विषयमा गहिरो प्रशिक्षण प्राप्त गरे।

कार्यक्रमको उद्घाटन गर्दै वडा नं. ४ का अध्यक्ष  सानुभाई नगरकोटीले जीवन विज्ञानको अभ्यासले व्यक्ति मात्र होइन, परिवार र समाजसमेत सशक्त बन्ने विश्वास व्यक्त गरे। “तनावको जरो चेतनामा हुन्छ, समाधान पनि चेतनाबाटै सम्भव छ,” उनले भने, “जीवन विज्ञानले हामीलाई आत्मचिन्तन, आत्मसंवाद र आत्मपरिवर्तनको बाटो देखाउँछ।”

कार्यक्रममा प्रशिक्षकहरूले तनावका विभिन्न प्रकार—शारीरिक, मानसिक, भावनात्मक र सामाजिक—बारे जानकारी दिँदै, तिनको समाधानका लागि ध्यान, योग, श्वासप्रश्वासको अभ्यास (प्रणायाम), सकारात्मक सोच र नियमित साधनाको महत्त्वबारे प्रशिक्षण दिए। सहभागीहरूले सामूहिक ध्यान, सशक्तिकरण अभ्यास, र अन्तरचिन्तनका सत्रहरूमा सक्रिय सहभागिता जनाए।

जीवन विज्ञान प्रतिष्ठानले विगत केही वर्षदेखि भौतिक र भर्चुअल माध्यममार्फत प्रत्येक बिहान ५:०० देखि ६:३० सम्म योग, ध्यान र प्रणायाम अभ्यास गराउँदै आएको छ। यस अभ्यासले हजारौं साधकहरूलाई मानसिक सन्तुलन, आत्मविश्वास र जीवनमा सकारात्मक दृष्टिकोण विकास गर्न सहयोग पुर्‍याएको छ।

गत वर्ष कार्तिक २२ गते टौखेल जीवनयोग प्रयोगशालाले वडा नं. ३ को सनराइज सभाहलमा ६००० जनाको सहभागितामा भव्य स्वजागरण कार्यक्रम सम्पन्न गरेको थियो। यस वर्ष पनि सोही मितिमा वडा नं. ४ को कवर्डहलमा तनाव बिसर्जन कार्यशाला सम्पन्न गरियो। आगामी वर्ष कार्तिक २२ गते वडा नं. २ स्थित बिशंखुनारायणमा यस्तै कार्यक्रम आयोजना गर्ने संकल्प गरिएको छ।

कार्यक्रमको समापनमा सहभागीहरूले जीवन विज्ञानको अभ्यासले आफूभित्रको ऊर्जा, शान्ति र सन्तुलनलाई पुनः अनुभव गर्न सहयोग पुगेको प्रतिक्रिया दिएका थिए। आयोजक संस्थाले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै समुदायस्तरमा मानसिक स्वास्थ्य र आत्मजागरणको अभियानलाई अझ व्यापक बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

२४ कार्तिक २०८२, आईतवार ०५:३२ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०