६ माघ २०८२, सोमबार
Follow us :

रास्वपाको विस्तारित बैठक :  डा. तोसिमा कार्कीको रिफर्मेसन मार्गचित्रले तहल्का 

कान्तिपुर प्रेस

चितवन, कार्तिक २२।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको विस्तारित बैठकमा केन्द्रीय सदस्य डा. तोसिमा कार्कीद्वारा पार्टीको वैचारिक, संगठनात्मक तथा नीतिगत रूपान्तरणका लागि रिफर्मेसन मार्गचित्र प्रस्तुत गरिएको छ। देशको वर्तमान राजनीतिक संक्रमणकालीन अवस्थालाई मध्यनजर गर्दै पार्टीलाई वैकल्पिक होइन, मूलधारको जिम्मेवार शक्ति बनाउने उद्देश्यसहित उक्त प्रस्ताव पेश गरिएको हो।

डा. कार्कीले २०८२ असोज २ गते पार्टी कार्यालयमा रिफर्मेसन सम्बन्धी औपचारिक पत्र दर्ता गराएको स्मरण गराउँदै, जेनजी आन्दोलनपछिको जनअपेक्षा, राज्यद्वारा भएको दमन, र देशभरि देखिएको असन्तुलनप्रति गम्भीर चिन्ता व्यक्त गरिन्। उनले पार्टीभित्र पदको बाँडफाँडभन्दा विचार, नीति र कार्यक्रमको प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याइन्।

चार बुँदे मार्गचित्र  

उनले प्रस्तुत गरेको मार्गचित्रमा चार प्रमुख बुँदाहरू समावेश छन्:

– महाधिवेशनको प्राथमिकता: पार्टीको महाधिवेशन २०८२ मंसिरमै सम्पन्न गर्नुपर्ने, जसले संगठन विस्तार, वैचारिक स्पष्टता र नयाँ ऊर्जा दिनेछ।

– संगठनात्मक पुनर्संरचना: हालको कार्यकारी नेतृत्व भंग गरी केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्नुपर्ने, जसमा जेनजी, वैकल्पिक शक्ति र बौद्धिक वर्गको समावेशी प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने।

– राजनीतिक एकता र चुनाव चिह्न साझा गर्ने प्रस्ताव: विचार मिल्ने दलहरूसँग घण्टी चुनाव चिह्न साझा गर्दै एकता गर्नुपर्ने, रास्वपाले उदार चरित्र देखाउँदै साना–ठूला सबै शक्तिलाई स्वागत गर्नुपर्ने।

– वैचारिक र सैद्धान्तिक रिफर्म: वाम–दक्षिण ध्रुवीकरणबाट बाहिरिएर मध्यमार्गी, लोककल्याणकारी राज्यको अवधारणा स्थापित गर्ने नयाँ वैचारिक नेतृत्वको आवश्यकता।

बैठकको उद्देश्य र अपेक्षा  

डा. कार्कीले विस्तारित बैठकलाई कर्मकाण्डी औपचारिकता होइन, अर्थपूर्ण सहभागिता र निर्णयको अधिकारसहितको वैचारिक मोडालिटी तय गर्ने अवसरका रूपमा लिन आग्रह गरिन्। उनले देशभरबाट उपस्थित प्रतिनिधिहरूको समय, श्रम र आशालाई सम्मान गर्दै पार्टीलाई सबल, सुसंस्कृत, समावेशी र जनउत्तरदायी शक्ति बनाउने विश्वास व्यक्त गरिन्।

सचिवालय विस्तारप्रति असहमति  

सचिवालयमा आफूलाई समावेश गर्ने प्रस्ताव आए पनि उनले लिखित असहमति जनाएकी थिइन्। “म पदको लागि होइन, सबै अट्ने–सबै खट्ने पार्टी निर्माणको पक्षमा छु,” उनले स्पष्ट पारिन्। रिफर्मेसनको एजेण्डा केवल संगठनात्मक सुधारमा सीमित नरही सैद्धान्तिक र व्यावहारिक रूपान्तरणको पूर्ण रूप हो भन्ने उनको भनाइ छ।

डा. कार्कीको प्रस्तावले रास्वपाभित्र गहिरो वैचारिक बहस र पुनर्संरचनाको आवश्यकता औंल्याएको छ। विस्तारित बैठकले यस मार्गचित्रलाई कति गम्भीरतापूर्वक लिन्छ भन्ने कुराले पार्टीको आगामी दिशा निर्धारण गर्नेछ।

२४ कार्तिक २०८२, आईतवार ०७:३० मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०