२ माघ २०८२, बिहीबार
Follow us :

पुल्चोकमा साझा प्रकाशनको ६२‌औँ स्थापना दिवस तथा बृहत् पुस्तक प्रदर्शनी सुरू

कान्तिपुर प्रेस

ललितपुर, मङ्सिर १७ — पुल्चोकस्थित साझा प्रकाशनको केन्द्रीय कार्यालय प्राङ्गणमा आजबाट बृहत् पुस्तक प्रदर्शनी सुरू भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले केन्द्रीय कार्यालय परिसरभित्रको रातो भवनमा आयोजित कार्यक्रममा प्रदर्शनीको औपचारिक उद्घाटन गरे।

उद्घाटन समारोहअघि साझा प्रकाशनले आफ्नो ६२‌औँ स्थापना दिवस मनाएको थियो। अध्यक्ष शेखर गिरीको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख आमन्त्रित सचिव भुजेलले साझा प्रकाशनलाई “देशका प्रतिष्ठित र जीवन्त संस्थामध्ये एक” भन्दै यस्ता संस्थाको संरक्षण र प्रवर्द्धन गर्न राज्य तथा समाज दुवैले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्ने बताए। सहकारी मन्त्रालयमा आफ्नो पदभार सम्हालेको तेस्रो दिनमै साझासम्बन्धी ५० लाख रुपैयाँको बजेट स्वीकृत गर्न पाउँदा खुसी लागेको उनले बताए।

साहित्यप्रेमी आफू पनि साहित्यकार बन्न चाहिए पनि हुन नसकेको उल्लेख गर्दै सचिव भुजेलले आफूले पढेका पुस्तकहरू नै आफ्नो पेशागत सफलतामा महत्वपूर्ण आधार रहेको स्मरण गरे। साझा प्रकाशनको कार्यक्रममा प्रमुख आमन्त्रितको रूपमा बोल्न पाउँदा गौरव लागेको उनले बताए।

कार्यक्रमका सभापति तथा साझा प्रकाशनका अध्यक्ष शेखर गिरीले साझा प्रकाशनले देशभित्र पठन संस्कृतिको विकास र सातै प्रदेशको सांस्कृतिक जगेर्नामा निरन्तर योगदान दिँदै आएको उल्लेख गरे। १९५६ मा गोरखा भाषा प्रकाशिनीका रूपमा शुरू भई १९९० मा नेपाली भाषा प्रकाशन समिति हुँदै २०२१ मा साझा प्रकाशन बनेको इतिहास स्मरण गराउँदै उनले संस्थाको वास्तविक आयु ११३ वर्ष पुगेको स्पष्ट पारे। गिरीले अब साझा प्रकाशनलाई नयाँ प्रविधिमा आधारित बनाउँदै अघि बढाउने योजनाबारे जानकारी दिए।

स्थापना दिवस कार्यक्रममा प्रा.डा. अभि सुवेदी, प्रा.डा. तुलसी भट्टराई, प्राज्ञ मातृका पोखरेल तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीले साझा प्रकाशनको ऐतिहासिक योगदान, वर्तमान चुनौती तथा आगामी दिशा सम्बन्धी विचार व्यक्त गरेका थिए।

साझा प्रकाशनका निमित्त महाप्रबन्धक भेषराज घिमिरेले संस्थाको आर्थिक, भौतिक संरचना र प्रकाशनगत अवस्थाबारे विस्तृत जानकारी दिँदै विगत केही वर्षयता संस्था अप्ठ्यारोमा रहेको बताए। नौ वर्षको लेखापरीक्षण पूरा भइसकेको उल्लेख गर्दै उनले पुराना भइसकेका मेशिन तथा जीर्ण अवस्थामा पुगेका भवन आधुनिकीकरणका लागि दातासँग संवाद भइरहेको जानकारी दिए। पुस्तकहरूको विद्युतीय रूपान्तरण र नयाँ प्रविधियुक्त प्रकाशन प्रक्रियामा साझा प्रवेश गर्न इच्छुक रहेको उनले बताए।

साझा प्रकाशनका सञ्चालक तथा कार्यक्रम संयोजक प्रा.डा. ध्रुव घिमिरेले स्वागत मन्तव्य राख्दै ‘साझा’ भन्ने नामकै कारण सबै कुरालाई एकै ठाउँमा सीमित गर्न खोज्दा संस्थाको उद्देश्य विपरीत जाने चेतावनी दिए। आगामी दिनमा सर्जक, लेखक तथा साहित्यकारहरूसँग व्यापक अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले बताए।

१६०० भन्दा बढी शेयरधनी रहेको साझा प्रकाशनका तर्फबाट श्रीओम श्रेष्ठ ‘रोदन’ र सीता पाण्डेले संस्थाबारे आफ्ना धारणा राखे। कार्यक्रमको सञ्चालन राष्ट्रिय सहकारी नियमन प्राधिकरण, पुल्चोकका लेखा सुपरीक्षण संयोजक वशिष्ठ अधिकारीले गरेका थिए।

मंसिर मसान्तसम्म चल्ने पुस्तक प्रदर्शनीमा राखिएका पुस्तकहरूमा ३० प्रतिशतसम्म छुट उपलब्ध गराइने साझा प्रकाशनले जनाएको छ।

१९ मंसिर २०८२, बिहीबार ०८:२३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०