आइतबारदेखि तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिता सुरु हुँदै छ।१९ गतेसम्म चल्ने प्रतियोगितामा ए डिभिजन क्लब र दुई विदेशीसहित ९ टोलीले प्रतिस्पर्धा गर्ने आयोजक राष्ट्रिय युवा संघ नेपालले जनाएको छ।आयोजकले यसअघिको पत्रकार सम्मेलनमा प्रतियोगितामा १० टोली सहभागी हुने बताएको थियो।
प्रतियोगिताको क्वाटरफाइनलसम्मका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलाइने र सेमिफाइनल तथा फाइनल खेल दशरथ रंगशालामा खेलाइने आयोजक राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले जानकारी दिए।
प्रतियोगितामा उज्वेकिस्तानको ब्ल्याक बुल्स र भुटानको ट्रान्सपोर्ट युनाइटेडको सहभागिता रहने आयोजकले जनाएको छ।उज्वेक क्बल ब्ल्याक बुल्स भर्खरै सम्पन्न आहारारा पोखरा गोल्डकपको उपाधि विजेता टोली हो।
प्रतियोगितामा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब , नेपाल पुलिस क्लब र एपीएफ क्लबसँगै साविक विजेता मच्छिन्द्र फुटबल क्लब, न्युरोड टिम (एनआरटी) क्लब र संकटा क्लबले प्रतिस्पर्धा गर्नेछन्। यसैगरी आयोजकका तर्फबाट केपी एफसी टिम पनि सहभागी हुनेछ।
केपी ओली कपको उद्घाटन खेलमा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपिएफबीच प्रतिस्पर्धा हुने भएको छ। सातदोबाटोमा दिउँसो ३ बजे हुने उक्त खेलका विजेताले क्वाटरफाइनलमा संकटा क्लबको सामना गर्नेछ।
अन्य सात टिम सिधै क्वार्टरफाइनलमा पुगे पनि ब्ल्याक बुल्स र एपिएफले आपसमा प्रतिस्पर्धा गर्दै अर्को चरणमा पुग्नेछन्।फागुन १२ गते त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। १२ गते नै आयोजक केपी ओली एफसी र एनआरटीबीच खेल हुनेछ।
फागुन १३ गते संकटा र उद्घाटन खेलको विजेता तथा मच्छिन्द्र फुटबल क्लब र भुटानको एफसी ट्रान्सफर युनाइटेडबीच हुनेछ।
फागुन १६ र १७ गते साँझ दशरथ रंगशालामा सेमिफाइनल तथा १ गते साँझ ५ बजे दशरथ रंगशालामै फाइनल खेल हुने आयोजकले जनाएको छ।प्रतियोगिताको विजेताले नगद १५ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख पाउनेछन्।
यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १ लाख, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई समान ५० हजार तथा उत्कृष्ट उदीयमान खेलाडीलाई पनि ५० हजार रुपैयाँ प्रदान गरिने उनले बताए।
हरेक खेलको विजेता टिमलाई २५ हजार तथा हरेक खेलका उत्कृष्ट खेलाडीलाई १५ हजार प्रदान गरिनेछ।यसअघिका दुबै संस्करणको उपाधि मच्छिन्द्र क्लबले जितेको छ। दुबै संस्करणको फाइनलमा मच्छिन्द्रले टाइब्रेकरमा जित निकालेको हो।
पहिलो संस्करणमा सातदोबाटो युथ क्लबलाई ५–३ ले तथा दोस्रो संस्करणको फाइनलमा एनआरटीलाई ५–४ गोल अन्तरले हराएको हो।अघिल्ला संस्करणमा सहभागी भएका चर्च ब्वाइज युथ क्लब, सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लब यो संस्करणमा सहभागी छैनन्।
ललितपुर महिला फुटसल भोलि
केपी ओली कप फुटबलको प्रचारका निम्ति ललितपुरको ढोलाहिटीमा बुधबार एक दिने ललितपुर महिला फुटसल प्रतियोगिता हुँदै छ।राष्ट्रिय युवा संघ नेपाल ललितपुर जिल्ला समितिको आयोजनामा हुने प्रतियोगितामा जिल्लाका विभिन्न १२ वटा क्लब र एकेडेमीबीच प्रतिस्पर्धा हुने ललितपुर समिति अध्यक्ष आरबी शर्माले जानकारी दिए।
उनका अनुसार फागुन ११ गतेबाट सुरु हुने तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको जानकारी दिने उदेश्यले ढोलाहिटीको विनायक स्पोर्ट्स कम्प्लेक्समा महिला फुटसल प्रतियोगिता आयोजना गर्न लागिएको हो।
महिला फुटसल प्रतियोगितामा सैंबुको प्रगति युथ क्लब, एम्बेस्डर फुटबल क्लब, ललितपुर फुटबल एकेडेमी, हरिसिद्धि स्पोर्टस् क्लब, पुष्पाञ्जलि फुटसल एकेडेमी, नमुना स्पोर्टस् क्लब, टीकाभैरव एफसी, हिमालयन क्वीन, वाङ्मो एफसी र राष्ट्रिय युवा संघ नेपालको टिमले प्रतिस्पर्धा गर्ने उनले बताए।विजेताले २० हजार तथा उपविजेताले १० हजार नगद पाउनेछन्।