बेलायतका लागि रुसी राजदूत आन्द्रेई केलिनले युक्रेनमा ताजा चुनाव गराउनु आवश्यक रहेको बताएका छन् । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको कार्यकाल गएको वर्षै सकिइसकेको छ । साउदी अरेबियामा अमेरिकासँगको वार्ताको क्रममा रूसले झूट बोलेको जेलेन्स्कीले भनेका थिए ।
बीबीसीको न्यूजनाइट कार्यक्रममा आन्द्रेई केलिनले जेलेन्स्कीको आरोपको जवाफमा दिँदै यस्तो बताएका हुन् । युक्रेनमा जारी युद्ध अन्त्य गर्न अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोभबिच साउदी अरबमा शान्ति वार्ता सम्पन्न भएको थियो । यस बैठकमा जेलेन्स्कीलाई बोलाइएको थिएन । यसैबिच जेलेन्स्कीले आफूलाई नबोलाएकोबारे अभिव्यक्ति दिँदै अमेरिका रुसले सृजना गरेको गलत सूचनाका संसारमा रहेको भनेका थिए ।
यसको प्रतिउत्तरमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भोलोडिमिर जेलेन्स्कीलाई चुनाव बिनाको तानाशाहको रूपमा वर्णन गरेका थिए । जेलेन्स्कीको राष्ट्रपतिको कार्यकाल मे २०२४ मा समाप्त हुने वाला थियो । तर २०२२ को फेब्रुअरीको अन्त्यतिर रूसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेनमा मार्शल ल लागू गरिएको छ । यसका कारण त्यहाँ चुनाव हुन सकेको छैन ।