१० चैत्र २०८१, सोमबार
Follow us :

शहीद गंगालाल केन्द्रमा दुर्लभ ‘अलकापा’ शल्यक्रिया सफल

कान्तिपुर प्रेस

काठमाडौंस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको दुर्लभ शल्यक्रिया सफल भएको छ । ‘अलकापा’ (एनोमोलस लेफ्ट कोरोनरी आर्टरी ओरिजिनेटिङ फोरम पल्मोनरी आर्टरी, अलकापा) भनिने मुटुको उक्त शल्यक्रिया पहिलोपल्ट सफल भएको हो। माघ ३ गते महोत्तरीका ९ महिने बालकको ‘अलकापा’ शल्यक्रिया गरी डिस्चार्ज गरिएको छ।

वरिष्ठ शल्यचिकित्सक डा रविन्द्रभक्त तिमलाको नेतृत्वमा शल्यचिकित्सक मारिसा अर्याल एनेस्थेसियाका डा प्रसन्ना पाण्डे, डा आशिष अमात्य, उमेश खाँड तथा ललिता शाक्यसहितको टिमले उक्त शल्यक्रिया सम्पन्न गरेको थियो। शल्यक्रियापछि निगरानीमा राखिएको बालकलाई आइतबार डिस्चार्ज गरिएको छ। शल्यक्रिया सम्पन्न गर्नका लागि करिब ४ घन्टा लागेको डा तिमलाले बताए।

डा तिमलाका अनुसार बालकको मुटुको खुम्चिने समस्या १०-१५ प्रतिशत मात्र थियो। शल्यक्रियापछि उनको मुटुको खुम्चिने शक्ति ३५ प्रतिशत पुगिसकेको छ। खुम्चिने शक्ति थप बढ्दै जाने डा तिमला बताउँछन्।

मुटुमा रक्तसञ्चार गर्ने मुल नशा एओर्टाबाट निस्कनु पर्नेमा पल्मोनरी आर्टरीबाट निस्केको अवस्थामा यस प्रकारको शल्यक्रिया गरिन्छ। उक्त नशालाई फेरी मुटुको मुल धमनीमा नै लगेर जोडिने शल्यक्रिया नै अलकापा शल्यक्रिया हो। विरलै हुने उक्त रोग करिब तीनलाख जीवित जन्मेका शिशुमध्ये एकलाई हुने गर्छ।

पल्मोनरी आर्टरीबाट निस्केको रगतको नलीमा प्रेसर र रगतको बहाव कम हुने हुनाले मुटुको मांशपेशीलाई आवश्यक रगत नपुगी मांशपेशीको खुम्चिने शक्ति कम हुन जान्छ। मुटुको खुम्चिने बालकको मुटुको खुम्चिने शक्ति घटेर १०/ १५ प्रतिशतमा झरिसकेको थियो।

औषधि उपचार पश्चात् २५ प्रतिशतसम्म बढिसकेको थियो। साधारणतया मुटुको खुम्चिने शक्ति ६० प्रतिशतको हाराहारीमा हुन्छ। यो शल्यक्रिया सबैभन्दा कम खुम्चिने शक्ति भएको मुटुको शल्यक्रिया भएको शल्यचिकित्सक डा रवीन्द्रभक्त तिमलाले जानकारी दिए। शल्यक्रिया पश्चात् हाल बालकको मुटुको खुम्चिने शक्ति बढेर ३५ प्रतिशत पुगिसकेको र विस्तारै बढ्दै जाने उनले बताए।

‘यस प्रकृतिको पहिलो सफल शल्यक्रिया हुनुको साथै कम खुम्चिने शक्ति भएको मुटुको शल्यक्रिया समेत भएको छ’, डा तिमलाले भने, ‘अहिले बालकको मुटुको खुम्चिने शक्ति बढेको छ, अझै बढ्दै जान्छ।’

१० फाल्गुन २०८१, शनिबार ०१:५६ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०