१० चैत्र २०८१, सोमबार
Follow us :

लुम्बिनी प्रदेशका सामुदायिक विद्यालयमा सुधारका लागि ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान शुरू

कान्तिपुर प्रेस

लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आफूले अध्ययन गरेको अर्घाखाँचीको अर्घा रजस्थल माध्यमिक विद्यालयबाट अभियानको शुभारम्भ गर्नुभएको हो ।

सामाजिक विकास मन्त्रालयको आयोजनामा प्रदेशका सबै विद्यालयमा अध्ययनरत पूर्व विद्यार्थीको ज्ञान, सीप र लगानीको सदुपयोग गर्ने उद्देश्यले ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु गरिएको छ । पूर्व विद्यार्थिको तर्फबाट मुख्यमन्त्री आचार्यले बुवाआमाको स्मृतिमा एक लाख ११ हजार एकसय ११ रुपियाँको टिकाराम–तारादेवी अक्षयकोष स्थापना गर्नुभएको छ । यो अक्षयकोषको ब्याजबाट दलित जेहन्दार विद्यार्थीलाई बार्षिक रुपमा पुरस्कृत गरिनेछ ।

यस्तै, मेरो विद्यालय मेरो दायित्व अभियानको कोषमा ५५ हजार ५ सय ५५ रुपियाँ जम्मा गर्दै अभियानको सुभारम्भ गर्नुभएको हो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन जरुरी छ । यो अभियानमा पूर्व विद्यार्थीहरुको अतुलनीय र रचनात्मक योगदानको खाँचो छ’ मुख्यमन्त्री आचार्यले भन्नुभयो– “सामुदायिय विद्यालयलार्इ नमुना बनाउन यो अभियान कोशेढुंगा सावित हुने छ ।’

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको मनोबल उच्च बनाउन मेरो विद्यालय मेरो दायित्व अभियानले सहयोग गर्ने बताउनुभयो । “सामुदायिक विद्यालयले धेरै व्यक्तित्व जन्माएको छ । धेरै छलफल गरेर पढेको विद्यालयप्रतिको दायित्व के हुने भनेर चालू आवको नीति तथा कार्यक्रममा समावेश गरेर राख्यौं । अब नियमित रुपमा अभियान चल्छ” उहाँले भन्नुभयो, “स्वदेश तथा विदेशमा रहनु भएका पूर्व विद्यार्थिले शैक्षिक र भौतिक सुधारका लागि आजको दिनले ढोका खोलेको छ । जिम्मेवारीवोध गराउन अभियान थालिएको हो । पैसा नहुन सक्छ, तर सीप, ज्ञान र अनुभवलाई साटासाट गर्न सकिन्छ ।” यो विद्यालयमा मुख्यमन्त्री आचार्यले आधारभूत तहको शिक्षा आर्जन गर्नुभएको थियो ।

प्रदेशभित्रका एकसाथ १७ वटा विद्यालयबाट अभियानको सुभारम्भ गरिएको छ । ७१ प्रतिशत बालबालिकाको रोजाइ बन्न सफल सामुदायिक विद्यालयप्रति अझै भरोसा र विश्वास बढाउन आवश्यक रहेको भनाइ मुख्यमन्त्री आचार्यको छ । सार्वजनिक बिद्यालयको शाख र गरिमालाई कायम गर्न सबै सरोकारवालाको सामुदायिक विद्यालयप्रतिको जवाफदेहीता वृद्धि गर्न प्रदेश सरकारको नीति कार्यक्रममा मेरो विद्यालय मेरो दायित्व सामाजिक अभियान समावेश थियो ।

यो अभियानमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने लक्ष्य राखिएको छ । गत वर्ष एसईईको नतिजा कमजोर आएपछि सुधारका लागि थालिएको यो अभियानले विद्यार्थीमा गुणस्तरीय सिकाइ अभिबृद्धि गर्न पूर्व विद्यार्थीको योगदानलाई समेट्ने विश्वास गरिएको छ । आफूले पढेको विद्यालयका बारेमा जानकारी लिन, पूर्व र वर्तमान विद्यार्थीबिच अन्तरक्रिया गरी शैक्षिक अवस्था सुधार्न अभियान प्रभावकारी हुने विश्वास मुख्यमन्त्रीको छ ।

प्रदेशमा ६ हजार तीन सय ४० विद्यालय छन् । जसमध्ये चार हजार पाँचसय ३१ सामुदायिक विद्यालय छन् । यी विद्यालयमा अध्ययनरत १२ लाख ८८ हजार दुईसय ९८ विद्यार्थीमध्ये नौ लाख २५ हजार छसय २९ जना विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययनरत छन् । माध्यमिक शिक्षा परीक्षाको नतिजाले लुम्बिनी प्रदेशमा सुधारको आवश्यकता देखाएअनुसार अभियान थालिएको छ। अभियानमार्फत् विद्यालय व्यवस्थापन, सामाजिक जागरुकता, आर्थिक स्रोत परिचालन, भौतिक सुधार तथा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न विभिन्न गतिविधि सञ्चालन गरिनेछ ।

यस अभियानअन्तर्गत शिक्षाबाट बञ्चित वर्गलाई मूलधारमा ल्याउन आर्थिक तथा भौतिक सहयोग जुटाइनेछ । विविध शैक्षिक प्रतियोगिता आयोजना, छात्रवृत्ति कोष स्थापना, सूचना प्रविधि सामग्री हस्तान्तरण तथा व्यावसायिक मार्गदर्शन कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसीराम रायमाझीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी बावुराम अर्याल, सामाजिक विकास मन्त्रालयका बरिष्ट उपसचिव शारदा बस्याल, पूर्व प्रधानाध्यापक सालिकराम भुसाल, पूर्व विद्यार्थी कृष्णप्रसाद भुसाल, सन्धिखर्क नगरपालिकाका पूर्व उपप्रमुख ठाकुरप्रसाद विक लगायतले सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि अभियान प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । प्रधानाध्यापक निरज भट्टराईले विद्यालयको इतिहासबारेमा प्रकाश पार्नुभएको थियो ।

१० फाल्गुन २०८१, शनिबार ०२:४१ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०