८ चैत्र २०८१, शनिबार
Follow us :

विश्वविद्यालयको जग्गा भाडाबारे संसदीय समितिमा दुईथरि मत

कान्तिपुर प्रेस

विश्वविद्यालयको जग्गा भाडामा दिने विषयमा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दुई लाइन देखिएको छ । समितिको बिहीबारको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि दफावार छलफलमा जग्गा भाडामा दिने विषयमा समितिमा दुई धार देखिएको हो ।

समिति सभापति अम्बरबहादुर थापा विश्वविद्यालय सञ्चालन गर्न जग्गा भाडामा दिनुपर्ने पक्षमा उभिए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसहिति समितिका अधिकांश सदस्य भने विश्वविद्यालयको जग्गा भाडामा दिन नहुने पक्षमा उभिए ।

विधेयकको दफा १३ को उपदफा ‘ज’ मा विश्वविद्यालयको कोष तथा चल अचल सम्पत्तिको सञ्चालन, रेखदेख र संक्षण कार्यकारी परिषद्ले गर्ने भनिएको छ । कार्यकारीको सट्टा सभालाई दिनुपर्ने मत सांसदहरूको छ ।

त्रिविको जग्गाको संरक्षणको अधिकार कार्यकारी परिषद्लाई दिँदा भाडामा लगाएको र अतिक्रमण भएको उदाहरण दिँदै सांसदहरूले अब बन्ने विश्वविद्यालयको जग्गाको संरक्षणको अधिकार सभालाई दिनुपर्नेे प्रस्ताव राखे ।

‘त्रिविको जग्गा अपचलन कार्यकारी परिषद्को निर्णयबाट भयो । विश्वविद्यालयको चल अचल सम्पत्तिको अधिकार सभामा पेस गर्ने गरौं । कार्यकारीबाट मात्र नगरौं,’ सांसद सुमना श्रेष्ठले भनिन्, ‘प्राध्यापक संघ संगठनलाई दिने हो भने पनि सभाबाट दिने व्यवस्था गरौं ।’

सांसद चन्द्र भण्डारीले पनि सुमनाको तर्कमा सहमति जनाए । ‘विश्वविद्यालयले जग्गा भाडामा दिन पाइँदैन । विश्वविद्यालय जग्गा भाडामा लगाएर सञ्चालन गर्ने होइन । प्रोग्राम बेचेर हो । नयाँ नयाँ प्रोग्राम ल्याउनुपर्छ । जग्गा भाडामा दिने कुरा ऐनमा लेख्नु हुँदैन । चलखेल गर्ने छिद्र ठाउँ नराखौं,’ उनले भने ।

१ फाल्गुन २०८१, बिहीबार १८:५६ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०