६ माघ २०८२, सोमबार
Follow us :

आइतबारदेखि मौसम सुधार हुने, हिमाली क्षेत्रमा आंशिक बदली रहने

कान्तिपुर प्रेस

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अहिले काठमाडौँ उपत्यकासहित देशका पहाडी भू–भागमा हल्का वर्षा भइरहेको बताएको छ।

महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार अहिले उपत्यकासहित सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही तथा बाँकी पहाडी भू–भागमा एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

उहाँले भन्नुभयो, “अहिले काठमाडौंको त्रिभुवन विमानस्थल क्षेत्र, गोङ्गबु आसपासको क्षेत्रसहित गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागको केही ठाउँमा हल्का वर्षा भइरहेको छ।” पहाडी भू–भागमा शुक्रबार राति पनि वर्षा हुने पूर्वानुमान गरिएको उहाँको भनाइ छ।

उहाँले न्युन चापीय प्रणालीको प्रभावका कारण भोलि शनिबार कम वर्षा हुने भए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

उहाँले भन्नुभयो, “भोलि उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। सबै प्रदेशको पहाडी भू–भागको थोरै ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।”

आइतबारदेखि भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। आइतबार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेका हिमाली क्षेत्रमा आंशिक बदली रहने तथा मौसम मुख्यतया सफा रहने छ।

१६ फाल्गुन २०८१, शुक्रबार २०:१४ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०