८ चैत्र २०८१, शनिबार
Follow us :

कराते प्रतियोगिताको उद्घाटन: खेलकुद बजेट १०% पुर्‍याउन सभापति बानियाँको माग

कान्तिपुर प्रेस

ललितपुर, १७ फागुन: नेपाली काँग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले समृद्ध नेपाल निर्माण गर्न स्वास्थ नागरिक तयार गर्नका लागि हरेक नागरिकलाई खेलकुदमा जोड्नुपर्छ भन्ने बताउनुभएको छ ।

गोदावरी नगरपालिकाको मुख्य प्रायोजन, नेपाल कराते महासंघको संयोजन एवम् जिल्ला प्रमुख डोजो ललितपुरको आयोजनामा कराते एकेडेमी हल सातदोवाटोमा शुक्रबारबाट सुरु भएको चौथौ कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको उद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै उहाँले आर्थिक समृद्धि हासिल गर्न हरेक नागरिकको स्वास्थ सबल हुनुपर्ने भन्दै शारीरिक तन्दुरुस्त र स्वास्थ्यका लागि खेलकुद महत्त्वपूर्ण रहेकोमा जोड दिनुभएको हो ।

“खेलाडी राष्ट्रको सान र पहिचान हो

खेलकुदको विकासमा तीन‌ तहका सरकारले उचित बजेट तथा कार्यक्रम तय गर्नुपर्छ, हरेक नागरिकलाई खेलकुदमा जोड्नुपर्छ, प्रदेशले मात्रै रकम छुट्याएर खेलकुदमा पर्याप्त काम हुन सक्दैन, स्थानीय, प्रदेश र केन्द्रले संघीयता र संविधानले स्वीकार गरेको व्यवस्थालाई मान्दै अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न लाग्नुपर्छ।” उहाँले भन्नुभयो ।

उहाँले रोगी भएर अस्पतालमा भर्ना हुनुनपर्ने अवस्था सृजना गर्न खेलकुदका माध्यमबाट निरोगी नागरिक तयारीका लागि  यस क्षेत्रमा कुल बजेटको दश प्रतिशत बजेट छुट्टाउनु पर्छ भन्नुभयो। खेल र खेलाडी चिनेको व्यक्तिले खेलकुदको नेतृत्व गर्न सक्छ भन्नुहुँदै सभापति बानियाँले नेतृत्व गर्ने व्यक्तिले नीति र विधिलाई व्यवस्थित गर्न सक्नुपर्छ भन्नुभयो। उहाँले प्रदेश संरचना भनेको विकासका साथसाथै प्रतिस्पर्धाका लागि पनि हो भन्दै बागमती प्रदेशले जस्तै अन्य प्रदेशले पनि खेलकुद क्षेत्रमा काम गर्न सक्नुपर्छ ‍भन्नेमा जोड दिनुभयो । उहाँले ललितपुरलाई खेलकुदको हवका रुपमा निर्माण गर्न सक्नुपर्छ भन्दै खेलक्षेत्र र खेलकुदको मैदानमा पुगेपछि राष्ट्र र खेलाडीको आँखाबाट हेर्नुपर्नेमा जोड दिनुभयो ।

“खेलाडीहरुलाई खेलप्रति आकर्षण बढ्ने गरी खेलकुदका नीतिहरु अवलम्बन गरिनुपर्छ, केन्द्रले उचित नीति अवलम्बन गर्नुपर्छ, प्रदेशले पनि विशेष ध्यान दिएको देखिन्छ, निष्ठाका प्रतिमुर्ति, निष्कलंक व्यक्तिको नाममा भएको खेल प्रतियोगिताले सक्षम र उत्कृष्ट खेलाडी तयार गर्न सक्ने विस्वास छ।” उहाँले भन्नुभयो ।

सभापति बानियाँले राजनीति सबै नीतिको प्रधान नीति भएको बताउँदै खेलाडीहरुले राजनीतिमा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नुपर्ने ओैल्याउनुभयो । गणतन्त्रमा सामान्य नागरिकले पनि देशको नेतृत्व गर्न सक्छ भन्नुहुँदै उहाँले सक्षम, स्वाधीन र अखण्ड नेपाल निर्माण गर्दै वीर गोर्खालीको इतिहास कायम राख्न खेलाडीहरुले खेल क्षेत्रबाट योगदान दिन सक्नुपर्ने बताउनुभयो।

“हामी राजा, राणाको लागि वीर गोर्खाली हैनौं, नेपाली नागरिकको प्रगति, उन्नति, समृद्धि र आर्थिक विकासका लागि वीर गोर्खाली हो, खेलाडीहरुले राजनीति बुझ्नु आवश्यक छ, गलत व्यक्तिको हातमा राजनीति गयो भने जनताले दुख पाउँछ ।” उहाँले भन्नुभयो ।

बागमती खेलकुद परिषदका सदस्य सचिव दिपक लामाले प्रदेशको खेलकुद विकास समितिमा दर्ता भएका खेलकुद संघहरुलाई समेटेर कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । उहाँले प्रदेशभित्रका १३ वटा जिल्लाका ३/३ वटा विद्यालयमा नमुना परियोजनाका खेलकुदका कार्यक्रमलाई पाठ्यक्रम नै बनाएर लागु गर्ने तयारी गरिएको जानकारी गराउनुभयो। सदस्य सचिव लामाले खेलकुद छिटोभन्दाछिटो हुने कुटनीतिक सम्बन्ध भएको बताउँदै राज्यले खेलकुदलाई महत्त्वपूर्ण अंगका रुपमा स्वीकार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले खेलकुदको विकासका लागि खेलकुदका संघहरुलाई आत्मनिर्भर बनाइनुपर्छ भन्नुभयो ।

नेपाली कांग्रेसका पूर्वआमन्त्रित केन्द्रीय सदस्य कवेल बहादुर लामाले यस्ता कार्यक्रमले बागमती प्रदेशको मात्रै नभइ देशको सबै क्षेत्रका खेलाडीहरुलाई उत्साह थप्ने बताउनुभयो । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पद हासिल गर्ने खेलाडीहरुलाई नेपाल सरकारले उचित मुल्यांकन गर्न नसकेको भन्दै खेलाडीहरुलाई बाँच्ने आधार तयार गरिदिनुपर्नेमा जोड दिनुभयो । उहाँले अन्तर्राष्ट्रिय स्तरमा पहिचान कायम राखेका खेलाडीहरुलाई देशमै रहने वातावरण सृजना गर्न संघीय सरकारले निरन्तर भत्ताको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय खेलकुद परिषदका पूर्वसदस्य सचिव एवम् नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले कराते खेल हिजो आत्मरक्षाका लागि मात्रै खेलिन्थ्यो भन्दै अहिले देशका विभिन्न क्षेत्रबाट कराते क्षेत्रमा लाग्ने व्यक्तिले आफ्नो भविष्य निर्माण गर्दै विश्व कराते महासंघ सम्मको यात्रा तय गर्न सक्ने अवस्था रहेको बताउनुभयो । उहाँले कराते क्षेत्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा धेरै पदकहरु हासिल गर्न सकेको छ भन्नुभयो। उहाँले कराते आत्मरक्षा र पदकका लागि मात्रै नभई राष्ट्र हीत, शान्तिसुरक्षा र  स्वास्थ्यका लागि पनि आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले राष्ट्रिय खेलकुद परिषद, खेलकुद परिषद ऐन २०७७ अनुसार संघीय खेलकुद मन्त्रालयले खेलकुदको दीर्घकालीन योजना तयार गर्नुपर्ने बताउनुभयो । उहाँले खेलाडीहरु राष्ट्रका सान हुन् भन्दै राजनीतिक दलहरुका लागि मात्रै उपयोग हुन नहुनेमा सचेत गराउनुभयो । देशको नीति निर्माण राजनीतिक दलले गर्ने हो भन्दै उहाँले खेलाडीहरुले राष्ट्रिय हीत अनुकुल हुने गरि खेलकुदका क्षेत्रमा लाग्नुपर्ने बताउनुभयो ।

लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचनले सामाजिक क्रियाकलापदेखि खेलकुदका कामहरुसम्म सफलतापूर्वक गर्न सक्ने व्यक्तित्व खेलकुद मन्त्रालय र नीति निर्माण तहमा आवश्यक रहेको बताउनुभयो । उहाँले खेलकुद क्षेत्रमा विकृति नै संघीय खेलकुद मन्त्रालयबाट सुरु भएको भन्दै यसका लागि व्यापक सुधारको आवश्यक रहेकोमा जोड दिनुभयो । सरकारको अहिलेको नीति अनुसार खेलाडी र खेलकुदको विकास र खेलाडीहरुको विदेश पलायनलाई रोक्न नसक्ने भन्दै उहाँले खेलकुदको नेतृत्वमा खेल क्षेत्र बुझेको सफल र सक्षम नेतृत्व आवश्यक रहेकोमा जोड दिनुभयो ।

नेपाल कराते महासंघका महासचिव दावा गुरुङले खेलकुदका हरेक क्षेत्रमा कराते खेलले नेतृत्व गरेको छ भन्दै कराते खेल नेपालको सबैभन्दा अव्वल दर्जामा छ भन्नुभयो । उहाँले विना हतियार देशको रक्षाका लागि काम गर्न सक्ने जमात करातेमा छ भन्दै अनुशासित युवाले देशको विकासकालागि काम गर्न सक्छ भन्ने बताउनुभयो । उहाँले देशमा आफ्नो भविष्य निर्माण गर्ने गरी लक्ष्यमा दृढ संकल्पित भएर काममा निरन्तर लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस ललितपुरका सभापति जितेन्द्रकुमार श्रेष्ठले खेलकुदका कार्यक्रमले ललितपुरको गतिविधिलाई चलायमान बनाएको बताउनुभयो । उहाँले खेलकुदको विकासका लागि खेलकुदको मर्म बुझ्ने व्यक्तिलाई सम्बन्धित मन्त्रालय दिँदा सकरात्मक प्रभाव पार्ने बताउँदै संघीय मन्त्रालय भन्दा प्रदेश मन्त्रालयबाट धेरै कार्यक्रमहरु भएको बताउनुभयो । उहाँले संघ, प्रदेश र स्थानीय सरकारमा भएका व्यक्तित्वहरुले पार्टीभन्दा माथि उठेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन

सन्तनेता कृष्णप्रसाद भट्टराईको स्मरणमा खेलकुद प्रतियोगिता आयोजना गरेर हौसला बढाउने काम गरेको बताउनुभयो । स्थानीय सरकारका तर्फबाट खेलकुद क्षेत्रमा केही सकरात्मक काम गर्ने प्रयास गरेको भन्दै नगरप्रमुख महर्जनले आगामी वर्ष गोदावरी नगरपालिकाभित्र बन्ने कवर्ड हलमा कार्यक्रम गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । उहाँले खेलकुद क्षेत्रमा गर्न सक्ने काम प्राथमिकताका साथ गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठले चार वर्षदेखि निरन्तर रुपमा सञ्चालन हुँदै आएको यस प्रतियोगिताको मुख्य उद्देश्य प्रतिभावान खेलाडी उत्पादन गर्ने भएको जानकारी गराउनुभयो। श्रेष्ठले प्रदेश सरकारबाट आगामी बर्षको नीति तथा कार्यक्रममा यो प्रतियोगितालाई समेटेर बजेट व्यवस्थापन गरिदिने विस्वास व्यक्त गर्नुभयो। उहाँले नियमित कार्यक्रममा समेटेर प्रतियोगितालाई निरन्तर दिन सहज बनाउन आग्रह गर्नुभयो । आजबाट तीनदिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी सहित १० वटा टिम सहभागी हुने उहाँले जानकारी गराउनुभयो।

१७ फाल्गुन २०८१, शनिबार ०९:१२ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०