माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबारदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका २,०७९ परीक्षा केन्द्रहरू बाट बिहान ८ बजे देखि परीक्षा सञ्चालन हुनेछ।
तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृत वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना, र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा हुनेछ।
यस वर्ष ५,१४,०७१ परीक्षार्थी सहभागी हुँदैछन्, जुन अघिल्लो वर्षको तुलनामा ४९,२८६ बढी हो। परीक्षामा १५० विद्यार्थीसम्म भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र २० विद्यार्थी बराबर एकजना निरीक्षक खटाइनेछ। ७५ विद्यार्थीभन्दा कम परीक्षार्थी भएका केन्द्रहरूमा सहायक केन्द्राध्यक्ष नहुने व्यवस्था गरिएको छ। एसईई परीक्षा चैत १९ गतेसम्म सञ्चालन हुनेछ, जसअनुसार सबै परीक्षा बिहान ८ देखि ११ बजेसम्म लिइनेछ।