गोदावरी साहित्य परिषद्को सातौं वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । बडिखेल स्थित सामुदायिक पुस्तकालय स्रोत केन्द्रमा सम्पन्न तेस्रो अधिवेशनबाट नवराज सञ्जेलको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। निर्वाचन समितिका संयोजक श्याम प्रसाद घिमिरेका अनुसार जनार्दन पौडेल (उपाध्यक्ष) शर्मिला दाहाल(सचिव), उषा केसी सिल्वाल (सहसचिव), अश्वस्थामा अर्याल (कोषाध्यक्ष)र सदस्यहरूमा राम कुमार श्रेष्ठ, कल्पना महर्जन , सुस्मिता अधिकारी, नागेश न्यौपाने निर्विरोध निर्वाचित भएका छन्।
वरिष्ठ साहित्यकार प्रा.डा. तुलसी भट्टराई ,प्रा. रामकुमार पाँडे,साझा प्रकाशनका अध्यक्ष शेखर गिरी लगायतका व्यक्तित्वको उपस्थितिमा सम्पन्न अधिवेशन तथा रचनावाचन कार्यक्रममा करीब दुई दर्जन स्रष्टाले कविता ,गजल ,गीत लगायतका साहित्यिक प्रस्तुति राखेका थिए । संस्थाले गोदावरी नगरपालिकाभित्रका भाषा ,साहित्य, कला ,संस्कृति लगायतका क्षेत्रमा काम गर्दै आएको छ। विधानत गोदावरी नगरपालिकाका नगरप्रमुख संरक्षक र उपप्रमुख सहसंरक्षक तथा प्रमुख प्रशासकीय अधिकृत पदेन सल्लाहकार रहने उक्त संस्थालाई नगरपालिकाले साहित्यिक कला र संस्कृतिको क्षेत्रमा सहकार्य गर्दै आएको छ।
उपस्थित अतिथिहरूले कार्य सफलताको शुभकामना व्यक्त गर्दै गोदावरी साहित्य परिषद्ले ऐतिहासिक रुपमा राष्ट्रिय तथा स्थानीय कार्यक्रमहरू सम्पन्न गरेकोमा उच्च प्रशंसा समेत गरेका थिए। निर्वाचित अध्यक्ष सञ्जेल गजल, पहिचान गीत तथा हाईकुको लेखनमा अब्बल मानिन्छन् ।बागमती गीतका सर्जक सञ्जेलले शैक्षिक गीतको राष्ट्रिय प्रतिस्पर्धामा प्रथम स्थान हासिल समेत गरेका थिए ।
संस्थाले निवर्तमान अध्यक्ष वशिष्ठ अधिकारीलाई सल्लाहकार संयोजक मनोनीत गर्दै यथाशीघ्र प्राज्ञ भेला गर्ने जनाएको छ।