प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष के.पी. शर्मा ओलीले कुर्सीमा बसेर कागजमा लेख्ने मात्रै शिक्षामा हामी रुमलिँयौँ भन्ने बताउनुभएको छ।
प्रगतिशील इन्जिनियर्स एशोशियशन नेपाल (पिन)को मंगलबार ललितपुरको कुपण्डोलमा आयोजित दशौँ महाधिवेशनमा मन्तव्य राख्नुहुँदै प्रधानमन्त्री ओलीले बेरोजगार उत्पादन गर्ने शिक्षाका कारण युवाहरु देशमा काम गर्न नसकेर बाहिर जान थालेको बताउनुभयो ।
“आफैले बनाए चिया पनि खान नसक्ने, नेपालभित्र भएको अवसरमा काम नै गर्न नसक्नेहरु भएको अवस्था छ, भैंसी दुहुन, घाँस काट्न पनि आउँदैन, जीवन र उत्पादनसंग शिक्षा जोडिन सकेन, कुर्सीमा बसेर कागजमा लेख्ने मात्रै शिक्षामा हामी रुमलिँयौँ।” उहाँले भन्नुभयो ।
उहाँले नेपाली विद्यार्थी बाहिर गएर पढेको कुरा ठूलो चिन्ता लिनुभन्दा पनि नेपालमा उन्नत र उद्यमशीलता प्रवर्द्धन गर्ने शिक्षा दिने प्रणालीलाई खुलापनका साथ अवसरको सृजना गर्ने वातावरण दिनुपर्छ भन्नुभयो
उहाँले आजको समय अनुसार मजवुत संरचना निर्माण हुनुपर्छ भन्दै त्यसमा इन्जिनियरहरुको ध्यान जानुपर्छ भन्नेमा जोड दिनुभयो ।
“हाम्रो देशमा पहाडी संरचना भएकोले हाम्रोमा पहिरो जाने समस्या छ, इन्जिनियरहरुले यो परिवेशलाई बुझेर भौगर्विक अवस्थाको मुल्यांकन गरेर सुरक्षित संरचना निर्माणमा ध्यान दिनुपर्छ, खतरायुक्त स्थानमा संरचना बनाउनु हुँदैन, कानूनी कुरामा भएका समस्या सुधार गर्न सुझाव आओस्, सरकारले त्यसमा ध्यान दिने छ, हामी हाम्रो देश बनाउछौँ।” उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले इन्जिनियरिङ क्षेत्रबाट गरिने कामहरुमा नीतिगत तथा योजना र कार्यक्रम तर्जुमाका क्षेत्रमा देखिएका कमी कमजोरीलाई कसरी अधिकतम जनतालाई सुविधा पुर्याउन सकिन्छ भनेर सरकारलाई सुझाव दिनुहुनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो।
“हामी सुखी नेपाली समृद्ध नेपाल साकार पार्न लागि परेका छौँ, प्रतिपक्षको भूमिका रचनात्मक र सकरात्मक हुनुपर्नेमा सरकारलाई कसरी बदनाम गर्न सकिन्छ भनेर मात्रै लागेको देखिन्छ तर हामी कतै डाइभर्ट हुँदैनौँ।” प्रधानमन्त्रीले भन्नुभयो ।
उहाँले वि.सं. २०४६ पछि देश तिव्र विकासको गतिमा अगाडि बढेको बताउनुहुँदै आफू प्रधानमन्त्री हुँदा भूकम्पले देश थिल्थिएको अवस्थामा “विल्ड वेटर”को नारा दिएर पुनःनिर्माणमा लागेको भनाई राख्नुभयो।
” देशमा पूर्वाधारको विकास विना विकास सम्भव छैन,पूर्वाधारको विकासले वजारको सृजना गर्छ, उद्यमशीलता प्रवर्द्धन गर्छ, बलियो पूर्वाधार निर्माणमा यहाँहरुको योगदान प्रति धन्यवाद छ, त्यसको प्रशंसा गर्न चाहान्छु ।” प्रधानमन्त्रीले भन्नुभयो ।
उहाँले दिनरात हवाईजहाज सञ्चालन हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गरेका छौँ भन्दै नेपालले गर्न सक्छ भन्ने देखिँदै गइरहेको बताउनुभयो ।
“विमानस्थल बनिरहेका छ, पुल, ट्रान्समिसन लाइन बनिरहेका छन्, केही पनि भएन देश खतम भयो भन्ने हल्ला निराधार छ।” उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले नयाँ शिक्षा प्रणालीले नेपालको शिक्षालाई रोजगार विहिन बनाएको धारणा राख्नुभयो।
उहाँले उद्यम गर्नेलाई धरौटी लिएर हैन, योजनालाई विश्वास गरेर ऋण दिएर काम गर्ने अवसर सृजना गर्न सक्नुपर्छ भन्दै १५ वर्षसम्म ऋण तिर्ने वातावरण दिनुपर्छ भन्नेमा जोड दिनुभयो ।
“व्यवसाय गरेर तिर्न सक्ने वातावरण नभएपछि मानिस फ्रस्टेसन हुन्छ, यो हुनुहुँदैन।” उहाँले भन्नुभयो ।
प्रगतिशील इन्जिनियर्स एशोशियशनका अध्यक्ष ई. डा सुरज लामिछानेले २०४७ सालमा इन्जिनियरिङ स्टडी ग्रुपमा स्थापित भएको संगठन एमाले पार्टीको जनवर्गीय संगठनको रुपमा क्रियाशील रहेको जानकारी गराउनुभयो। उहाँले प्राविधिक रुपमा पार्टीलाई सहयोग गर्ने र प्राविधिकमैत्री नीति निर्माणका लागि सहयोग गर्ने एशोशियशनको अभिप्राय रहेको बताउनुभयो।